काठमाडौं-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सम्मान, सहिष्णुता र सामाजिक सद्भाव नै नेपालीहरूको राष्ट्रिय एकताको आधार भएको बताएकी छन्।
आइतबार २९औँ तुलसीलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र भएकाले विविधताबीचको एकता नै देशको सबैभन्दा ठूलो शक्ति भएको बताइन्।
सुनसरीसहित पूर्वी तराईका केही जिल्लाहरूमा पछिल्ला दिनमा देखिएको सामुदायिक तनाव र हिंसात्मक घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै उनले राष्ट्रिय एकता कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिइन्।
पूर्वराष्ट्रपति भण्डारीले वर्तमान संवेदनशील परिस्थितिमा संयम अपनाउन, अफवाह, घृणा र विभाजनका प्रयासबाट टाढा रहन तथा सामाजिक सद्भाव र कानुनी शासनलाई सुदृढ बनाउन सबै नेपालीलाई आह्वान गरिन्।
‘आजको यस संवेदनशील परिस्थितिमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई संयम अपनाउन, अफवाह, घृणा र विभाजनका प्रयासबाट टाढा रहँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव र कानुनी शासनलाई सुदृढ बनाउन आ-आफ्नो स्थानबाट जिम्मेवार भूमिका निर्वाह गर्न हार्दिक आह्वान गर्दछु,’ पूर्वराष्ट्रपति भण्डारीले भनिन्।


प्रतिक्रिया