काठमाडौं-नर्सिङ क्षेत्रका समस्या समाधानमा सरकार गम्भीर नभएको र नीतिगत रूपमा सुधारका लागि प्रभावकारी कदम नचालेको भन्दै नर्सहरूले सोमबार वीर अस्पताल अगाडि प्रदर्शन गरेका छन्। नर्स ज्योति रानाभाटले सुरू गरेको आमरण अनशनको पाँचौँ दिन विभिन्न अस्पतालका नर्सहरू सडकमा उत्रिएर आफ्ना मागप्रति सरकारको ध्यानाकर्षण गराएका हुन्।
प्रदर्शनमा सहभागी त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल लगायतका स्वास्थ्य संस्थाका नर्सहरूले गुणस्तरीय नर्सिङ शिक्षा कायम गर्नुपर्ने, बिरामी सुरक्षाको सुनिश्चितता हुनुपर्ने, सम्मानजनक सेवा–सुविधा उपलब्ध गराउनुपर्ने, न्यूनतम पारिश्रमिक सुनिश्चित गर्नुपर्ने तथा श्रम शोषणको अन्त्य गर्नुपर्ने माग राखेका थिए। उनीहरूले ‘१५ बुँदे माग पूरा गर’, ‘ज्योतिको जीवन बचाऊ’, ‘न्यायमा ढिलाइ जीवनमा जोखिम’, ‘नर्सिङ सुधारको स्पष्ट रोडम्याप’, ‘नर्स बचाऔँ-स्वास्थ्य बचाऔँ’ लगायतका नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए।
अनशनरत रानाभाटले उठाएका १५ बुँदे मागहरू यथाशीघ्र सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै प्रदर्शनकारीहरूले विगतमा सरकारसँग भएका सम्झौता र प्रतिबद्धता कार्यान्वयन नभएको आरोप लगाए। बारम्बार आश्वासन दिए पनि समस्या समाधानतर्फ ठोस पहल नभएको भन्दै नर्सहरू थप आक्रोशित बनेका छन्।
यसैबीच नेपाल चिकित्सक संघले पनि अनशनरत रानाभाटको जीवन रक्षाका लागि सरकारलाई तत्काल पहल गर्न आग्रह गरेको छ। सोमबार जारी विज्ञप्तिमार्फत संघले रानाभाटका जायज मागहरू सम्बोधन गर्दै संवाद र सहमतिका माध्यमबाट समस्या समाधान गर्न सरकारसँग अनुरोध गरेको हो।
हाल अनशनरत रानाभाटको वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ। नर्सिङ क्षेत्रको सुधार, श्रमिक अधिकारको संरक्षण तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिसँग सम्बन्धित मागहरूलाई बेवास्ता नगर्न नर्स तथा चिकित्सक समुदायले सरकारसँग आग्रह गरेका छन्।


प्रतिक्रिया