काठमाडौं-न्यूनतम पारिश्रमिक, श्रम शोषणको अन्त्यलगायत १५ बुँदे माग राख्दै २०८३ साउन १४ गतेदेखि आमरण अनसनमा बसेकी नर्स ज्योति रानाभाटको समर्थनमा काठमाडौं उपत्यकाका नर्सहरूले प्रदर्शन गरेका छन्।
आन्दोलनको छैटौँ दिन मंगलबार वीर अस्पताल परिसरमा भेला भएका नर्सहरूले प्लेकार्डसहित प्रदर्शन गर्दै रानाभाटले उठाएका माग जायज रहेको उल्लेख गर्दै तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका हुन्।
आमरण अनसनमा रहेकी रानाभाटको स्वास्थ्य अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएपछि उनलाई वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरी उपचार भइरहेको छ।

प्रदर्शनमा सहभागी स्वास्थ्यकर्मीहरूले नेपालमा नर्सहरूको तलब, भत्ता, सेवा–सुविधा तथा वृत्ति विकाससँग सम्बन्धित समस्याको समाधानका लागि यसअघि सरकारसँग भएका सहमति कार्यान्वयन नभएको बताए। पटक–पटक भएका सम्झौता कार्यान्वयन नहुँदा देशभरका नर्सहरू अन्यायमा परेको उनीहरूको भनाइ छ।
रानाभाटको आन्दोलनलाई डेन्टल साइन्स हाइजेनिष्ट एसोसिएसन अफ नेपाल, नेपाल पब्लिक हेल्थ एसोसिएसन, हेल्थ असिस्टेन्ट एसोसिएसन अफ नेपाल र नेपाल सीएमए सङ्घ ले पनि ऐक्यबद्धता जनाएका छन्। उनीहरूले नर्सहरूको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।



प्रतिक्रिया