अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनसरी घटना

रविन्द्र मेहताको मृत्युपछि तनाव: आफन्तले शव बुझ्न मानेनन्, कप्तानगञ्जमा रूख ढालेर सडक अवरोध

रविन्द्र मेहताको मृत्युपछि तनाव: आफन्तले शव बुझ्न मानेनन्, कप्तानगञ्जमा रूख ढालेर सडक अवरोध


काठमाडौंसुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनामा गोली लागेर घाइते भएका २२ वर्षीय रविन्द्र मेहताको उपचारका क्रममा २०८३ साउन १९ गते मंगलबार निधन भएपछि उनका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत मेहताको आईसीयूमा मृत्यु भएपछि परिवारजनले गृहमन्त्री सुधन गुरुङ स्वयं अस्पताल नआएसम्म शव नबुझ्ने अडान लिएका हुन्।

अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार मृतकका आफन्तले घटनामा संलग्नमाथि कारबाही, गोली चलाउने व्यक्तिको पहिचान, निष्पक्ष छानबिन तथा पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै शव बुझ्न नमानेका छन्। रोस्याराले भने, ‘ मृतक रविन्द्रका आफन्तहरूले गृहमन्त्री एक पटक अस्पताल आउनुपर्छ भनिरहनुभएको छ। उहाँहरूले शव बुझ्न मान्नु भएको छैन।’ 

उनीहरूले अहिलेसम्म कसैलाई पक्राउ नगरिएको, छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरिएको तथा गोली चलाउनेमाथि कुनै कारबाही नभएको भन्दै राज्यले केवल सम्झौतामार्फत घटनालाई साम्य पार्न खोजेको आरोप लगाएका छन्।

मृतकका आफन्तले गृहमन्त्रीले घरमै पुगेर गरेको कागजी सम्झौताले मात्र आफूहरू सन्तुष्ट नहुने बताउँदै प्रत्यक्ष जवाफदेहिता र ठोस कदमको माग गरेका छन्। उनीहरू शिक्षण अस्पताल परिसरमै धर्नामा बसेका छन्।

उता, रविन्द्र मेहताको मृत्युको खबर फैलिएसँगै उनको गृहक्षेत्र सुनसरीको कप्तानगञ्जमा तनाव बढेको छ। स्थानीयवासीहरूले सडकमा रुख ढालेर प्रदर्शन गरेका छन् भने सुरक्षा अवस्था नियन्त्रणमा लिन सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इनरुवाबाट थप प्रहरी टोली पनि घटनास्थलतर्फ पठाइएको छ।

महाराजगञ्ज प्रहरीका डीएसपी नवराज पोखरेलले मृतकका आफन्तले सरकारबाट स्पष्ट प्रतिक्रिया र न्यायको सुनिश्चितता माग गर्दै शव नउठाएको जानकारी दिए। स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा राख्न सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ।

मेहताको यसअघि ​विराटनगरस्थित विराट नर्सिङ होममा लगिएपनि उपचार हुन नसकेपछि २०८३ साउन १४ गते थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना ल्याइएको थियो । 

२०८३ साउन ९ गते कप्तानगन्जमा दुई समूहबीच भएको विवाद नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागी स्थानीय २१ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो भने केही घाइते भएका थिए। घाइते मध्ये स्थानीय २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार विराटनगरमा उपचारका क्रममा मृत्यु भएका थियो। रवीन्द्र कुमार मेहताको २०८३ साउन १९ गते मंगलबार मृत्यु भएको हो। योसँगै कप्तानगन्ज घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।