काठमाडौं-राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले बजारमा खाना पकाउने ग्यासको आपूर्ति तत्काल सहज बनाउन सरकारलाई निर्देशन दिएको छ।
बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले उपभोक्ताको हित संरक्षण, कृत्रिम अभाव नियन्त्रण तथा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रणका लागि आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरेको हो।
समिति सभापति जयन्तीदेवी राईले बैठकपछि जारी निर्णयमा देशभर गुणस्तरीय वस्तु तथा सेवाको सहज आपूर्ति सुनिश्चित गर्न, बजार अनुगमनलाई प्रभावकारी बनाउन तथा कालोबजारी नियन्त्रणमा कडाइ गर्न निर्देशन दिइएको जानकारी दिइन्। उनले बजारमा देखिन सक्ने कृत्रिम अभाव रोक्न सम्बन्धित निकायले सक्रिय रूपमा काम गर्नुपर्नेमा जोड दिइन्।
समितिले दैनिक उपभोग्य वस्तु तथा सेवामा भइरहेको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न, सर्वसाधारणको पहुँचमा सुपथ मूल्य पसल सञ्चालन तथा विस्तार गर्न र ती पसलहरूको नियमित अनुगमन गर्न पनि सरकारलाई निर्देशन दिएको छ। साथै, प्रत्येक पसलमा अनिवार्य रूपमा मूल्यसूची राख्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने समितिको निष्कर्ष छ।
समितिले उपभोक्ताको अधिकार संरक्षण र बजार व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नीतिगत तथा कार्यान्वयन तहमा तत्काल आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ।


प्रतिक्रिया