अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारी कर्मचारीको नयाँ तलमबान, कसको कति ? (सूचीसहित)

सरकारी कर्मचारीको नयाँ तलमबान, कसको कति ? (सूचीसहित)


काठमाडौं-सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को लागि बजेट मार्फत वृद्धि गरेको तलब अनुसारको राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अर्थ मन्त्रालयबाट प्राप्त नयाँ तलबमानलाई स्वीकृत गर्दै कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाएको हो।

अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले २०८३ साउन १ गतेदेखि नै लागू हुने गरी निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीहरूको नयाँ तलबमान र सुविधा स्वीकृत गरेको मन्त्रालयले जनाएको छ । 

बजेट मार्फत वृद्धि भएको नयाँ तलबमान अनुसार अब राज्यको प्रशासनिक संयन्त्रको सर्वोच्च पद मुख्यसचिव र नेपाली सेनाका प्रधानसेनापतिको तलब समान ९० हजार ५ सय ९४ रुपैयाँ कायम भएको छ । यसअघि उनीहरूको सुरु तलबमान ८४ हजार ९ सय ३२ रुपैयाँ रहेकोमा ग्रेड वृद्धि पश्चात् कुल तलब ९० हजार ५ सय ९४ पुगेको हो ।

त्यस्तै, नेपाल प्रहरीका महानिरीक्षक , सशस्त्र प्रहरी महानिरीक्षक र सरकारका सचिवहरूको कुल तलब ८४ हजार ५ सय ७६ रुपैयाँ कायम गरिएको छ।

नयाँ व्यवस्था अनुसार सरकारी सेवामा सबैभन्दा कम तलब पाउने प्रथम स्तरका कार्यालय सहयोगीको तलब २८ हजार ९ सय ८४ रुपैयाँ पुगेको छ । श्रेणीविहीन कर्मचारीहरू (हल्कारा, हुलाकी, कार्यालय सहयोगी) को सुरु तलबमान २७ हजार १ सय ७२ रुपैयाँ रहेकोमा ग्रेड थप भएपछि कुल तलब २८ हजार ९ सय ८४ रुपैयाँ पुगेको हो ।

नयाँ तलबमानसँगै सरकारले कर्मचारीहरूका लागि १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको पनि व्यवस्था गरेको छ । एक दिनको तलब बराबरको ग्रेड रकम र वृद्धि पश्चात् कायम हुने तलबमानको १० प्रतिशत रकम मासिक रूपमा प्रोत्साहन भत्ताबापत प्रदान गरिने अर्थ मन्त्रालयको परिपत्रमा उल्लेख छ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको हकमा माध्यमिक तह (प्रथम श्रेणी) को तलब ७४ हजार ९ सय ५८ रुपैयाँ पुगेको छ भने प्राथमिक तहका शिक्षकहरूको न्यूनतम तलब ३४ हजार ४ सय २६ रुपैयाँ कायम भएको छ। स्वास्थ्य सेवातर्फ अधिकृत बाह्रौँ तहको तलब ८४ हजार ५ सय ७६ रुपैयाँ पुगेको छ ।

पेन्सनमा १० प्रतिशत वृद्धि

तलब वृद्धिसँगै अवकाशप्राप्त कर्मचारीहरू अर्थात् पेन्सनधारीहरूको हकमा पनि १० प्रतिशतले नै पेन्सन रकम वृद्धि हुने भएको छ।

अर्थ मन्त्रालयका अनुसार यो नयाँ तलबमान २०८३ साउन १ गतेदेखि नै गणना हुने गरी कार्यान्वयनमा आएको छ । मन्त्रालयले सबै निकायलाई नयाँ तलबमान अनुसार नै भुक्तानी गर्न निर्देशन दिइसकेको छ।

हेर्नुहोस् कसको कति ?