अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेनपावरलाई विभागको कडा निर्देशन: ‘कोटा सकियो’ भन्दै आवेदन लिन अस्वीकार गर्न पाइँदैन

मेनपावरलाई विभागको कडा निर्देशन: ‘कोटा सकियो’ भन्दै आवेदन लिन अस्वीकार गर्न पाइँदैन


काठमाडौं-वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिहरूलाई ‘कोटा सकिसकेको’ भन्दै आवेदन दिनबाट वञ्चित गर्ने मेनपावर कम्पनीहरूलाई वैदेशिक रोजगार विभागले कडा निर्देशन जारी गरेको छ।

विभागले बिहीबार सूचना जारी गर्दै वैदेशिक रोजगारीका लागि प्रकाशित विज्ञापनको निर्धारित अवधिभित्र आवेदन दिन आउने सबै आवेदकको निवेदन अनिवार्य रूपमा दर्ता गर्न इजाजतपत्रप्राप्त वैदेशिक रोजगार व्यवसायी (मेनपावर) हरूलाई निर्देशन दिएको हो।

वैदेशिक रोजगार ऐन, २०६४ अनुसार कुनै पनि मेनपावर कम्पनीले कामदार पठाउन पूर्वस्वीकृति प्राप्त गरेपछि कम्तीमा सात दिनको अवधि दिई राष्ट्रियस्तरको दैनिक पत्रिका र आफ्नो वेबसाइटमार्फत विज्ञापन प्रकाशन गर्नुपर्ने कानुनी व्यवस्था छ।

तर, सात दिनको म्याद कायम राखेर विज्ञापन प्रकाशित गरे पनि आवेदन दिन पुगेका सेवाग्राहीलाई ‘कोटा सकिएको’ भन्दै फर्काउने र छनोट प्रक्रियाबाटै वञ्चित गर्ने गुनासो व्यापक रूपमा प्राप्त भएपछि विभागले यस्तो निर्देशन जारी गरेको जनाएको छ।

विभागका अनुसार अबदेखि सात दिनको आवेदन अवधिभित्र आउने सबै आवेदकको आवेदन अनिवार्य रूपमा सङ्कलन गर्नुपर्नेछ। आवेदन अवधि समाप्त भएपछि मात्र सबै आवेदकहरूको एकमुष्ट सूची सम्बन्धित मेनपावर कम्पनीको वेबसाइटमा प्रकाशन गरी छनोट प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी, छनोट प्रक्रियामा आवेदन दिएका सबैलाई समावेश गर्नुपर्ने र छनोट सम्पन्न भएपछि छनोट हुन नसकेका आवेदकलाई असफल हुनुको स्पष्ट कारणसहित जानकारी गराउनुपर्ने विभागले निर्देशन दिएको छ।

विभागले यस व्यवस्थाको पूर्ण पालना गर्न सबै इजाजतपत्रप्राप्त वैदेशिक रोजगार व्यवसायीलाई आग्रह गर्दै नियम उल्लङ्घन गरे कानुनबमोजिम कारबाही हुने संकेतसमेत दिएको छ।