काठमाडौँ-नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगर महानगरपालिका-७, कोशी अस्पताल चोकस्थित कोइराला निवासको मर्मत तथा संरक्षणका लागि विनियोजन गरिएको २ करोड रुपैयाँ फिर्ता लिन सरकारसँग आग्रह गरेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेख्दै कोइरालाले राज्यसामु गरिबी, अभाव र अनेकौँ कष्टमा रहेका नागरिकको उत्थानका लागि सीमित स्रोत-साधनको उपयोग हुनुपर्ने भन्दै कोइराला निवास मर्मतका लागि छुट्याइएको रकम फिर्ता गर्न आग्रह गरेका हुन् ।
सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा नागरिक चेतनाको धरोहर तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जन्मघरका रूपमा रहेको कोइराला निवासको मर्मत तथा सम्भारका लागि २ करोड रुपैयाँ विनियोजन गरेको थियो।
कोइरालाले उक्त रकम फिर्ता गर्दै राज्यले आफ्ना सीमित स्रोत र साधन नागरिकको उत्थानका लागि प्रयोग गर्नुपर्ने बताएका छन् ।
पत्रमा उनले विराटनगर महानगरपालिका–७ मा रहेको पिताजी कृष्णप्रसाद कोइरालाद्वारा शताब्दीअघि निर्मित ऐतिहासिक घर, जसलाई ‘कोइराला निवास’ भनेर चिनिन्छ, गत वर्ष भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा जलाइएको उल्लेख गरेका छन् । त्यस क्रममा निवासको ऐतिहासिकता भौतिक रूपमा नष्ट भएको उनले बताएका छन् ।
डा. कोइरालाले कृष्णप्रसाद कोइरालाले शताब्दीअघि शैक्षिक जागरणमार्फत समाज रूपान्तरणको अभियान सुरु गरेको र बीपी कोइरालाको नेतृत्वमा त्यो अभियान नेपाली जनताको राजनीतिक, बौद्धिक तथा सामूहिक चेतनाको संघर्षमा परिणत भएको उल्लेख गरेका छन् ।
उनका अनुसार कोइराला निवास केवल एउटा घर नभई आम नेपाली जनताको भरोसा र विश्वासको केन्द्रसमेत थियो । नेपाली जनताको सामूहिक चेतनाको त्यो धरोहर विचार, संगठन, स्वतन्त्रता र राष्ट्रियताका रूपमा आज देशभर फैलिएको उनले बताएका छन् ।



प्रतिक्रिया