अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ट्रमा सेन्टर अन्यत्र लैजान खोजिएको भन्दै सदनमा मौन उभिए डा. चन्द्रमोहन यादव

ट्रमा सेन्टर अन्यत्र लैजान खोजिएको भन्दै सदनमा मौन उभिए डा. चन्द्रमोहन यादव


काठमाडौं-नेपाली कांग्रेसका सांसद डा. चन्द्रमोहन यादवले धनुषाको ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टर अन्यत्र सार्न खोजिएको भन्दै प्रतिनिधिसभामा अनौठो शैलीमा विरोध जनाएका छन्। उनले सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै दिनभर सदनमा मौन धारण गरेर उभिरहने घोषणा गरेका हुन्।

शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद यादवले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले ढल्केबरमा निर्माण हुने भनिएको ट्रमा सेन्टर अन्यत्र सार्न खोजेको आरोप लगाए। उनले जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने आयोजना राजनीतिक प्रतिशोध वा अन्य स्वार्थका कारण प्रभावित पार्न खोजिएको दाबी गरे।

‘ढल्केबरमा बन्ने भनिएको ट्रमा सेन्टर यो सरकारले सार्ने भनेको छ,’ उनले सदनमा आक्रोश व्यक्त गर्दै भने, ‘यसको विरोधमा म आज दिनभर सदनमा उठेर मौन बस्छु।’

सांसद यादवका अनुसार यसअघिका सरकारले ट्रमा सेन्टर निर्माणका लागि बजेट समेत विनियोजन गरिसकेका थिए। उनले सुरुमा २० करोड रुपैयाँ र त्यसपछि थप २ करोड रुपैयाँ बजेट छुट्याएर प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। बजेट सुनिश्चित भइसकेको आयोजना रोक्ने वा अन्यत्र सार्ने प्रयास स्वीकार्य नहुने उनको भनाइ थियो।

यादव सदनमा उभिरहेपछि सभामुख डोलप्रसाद अर्यालले पटक–पटक आसन ग्रहण गर्न आग्रह गरेका थिए। सभामुखले प्रतिनिधिसभाको मर्यादा कायम राख्न र जनताका माग सम्बोधन गर्ने अन्य संसदीय माध्यम पनि रहेको उल्लेख गर्दै सहयोग गर्न अनुरोध गरेका थिए।

‘यो हामी प्रतिनिधिसभाको सभा सञ्चालन गरिरहेका छौँ। त्यसकारण प्रतिनिधिसभाको मूल्य, मान्यता र मर्यादा माननीय सदस्यलाई मैले भनिरहनु पर्दैन। त्यसैले बस्नुस्, सभालाई मर्यादित रूपमा सञ्चालन गर्न सहयोग गर्नुस्,’ सभामुख अर्यालले भने।

तर सांसद यादवले ढल्केबर ट्रमा सेन्टरको योजना किन हटाइयो भन्ने विषयमा अर्थमन्त्री वा स्वास्थ्यमन्त्री स्वयं उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने अडान राख्दै आफ्नो विरोध जारी राखेका छन्। आयोजना सार्ने निर्णय फिर्ता नभएसम्म विरोधका कार्यक्रम जारी रहने संकेत पनि उनले दिएका छन्।