काठमाडौं-नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) माथि आफ्नै दलबाट सत्ता त्यागका लागि व्यापक दबाब बढ्दै गएको टिप्पणी गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रतिनिधिसभा बैठकमै सरकार सञ्चालनको शैलीप्रति आलोचना गरेकै दिन शुक्रबार राति ११ बजेर ६ मिनेटमा प्रधानमन्त्री बालेनले सामाजिक सञ्जाल फेसबुकमा सही समय आउन केही समय लाग्ने र सुनेको र देखेको भन्दा वास्तविकता फरक हुने भावुक स्टाटस लेखेका थिए। आम नागरिकलाई नआत्तिन आग्रह गर्दै प्रधानमन्त्री शाहले कहिलेकाहीँ एक्लै लड्नुपर्ने अवस्था आउने गुनासो थिए।
‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ’, उनले लेखेका छन्, ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलोचोटि होइन।’

सोही स्टाटसलाई आधार बनाउँदै सचिव बस्नेतले शनिबार बिहान फेसबुकमार्फत प्रधानमन्त्रीमाथि दबाब बढेको अनुमान गरेका हुन्।
सचिव बस्नेतले आफ्नो स्टाटसको शीर्षक ‘दुःख पायो मंगले, आफ्नै ढङ्गले!’ राख्दै बालेनको ‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन’ भन्ने अभिव्यक्तिमाथि टिप्पणी गरेका छन्।
सचिव बस्नेतले मध्यरातमा आएको उक्त स्टाटसले प्रधानमन्त्री बालेनमाथि सत्ता त्यागका लागि व्यापक दबाब बढ्दै गएको र आफ्ना निर्णय तथा कार्यशैलीलाई सही साबित गर्नुपर्ने बाध्यता देखिएको उल्लेख गरेका छन्।
सचिव बस्नेतले राजनीतिमा भावनात्मक अभिव्यक्तिभन्दा काम र परिणाम महत्वपूर्ण हुने बताएका छन्। उनका अनुसार जनताले ‘सही समय आउँछ’ भन्ने आश्वासनभन्दा आफूले भोगिरहेका समस्या समाधान भएको र जीवनमा वास्तविक सुधार तथा प्रगति भएको हेर्न चाहन्छन्।
सचिव बस्नेतले बालेनलाई चुनावमा प्राप्त जनमत र जनताको विश्वास बिर्सन नहुने पनि बताएका छन्। जनताले साथ दिएर सत्तामा पुर्याएका हुन् भने उनीहरूका प्रश्न र आलोचनाबाट पनि भाग्न नमिल्ने बस्नेतको भनाइ छ।
‘समय अवश्य आउँछ, तर समयले मात्र सबै कुरा बदल्दैन। काम, व्यवहार र परिणाम नै असली मापदण्ड हुन्,’ बस्नेतले लेखेका छन्, ‘गल्ती सच्याउने र जवाफ दिने समय पनि यही हो।’
बस्नेतले अन्ततः स्टाटसले नभई इतिहासले कसको निर्णय सही र कसको गलत थियो भन्ने फैसला गर्ने टिप्पणी गरेका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सत्तारुढ दल रास्वपाकै सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्याउन नसकेको टिप्पणी गरेका थिए।
उनले सरकारको राज्य सञ्चालनप्रतिको नियत र सरकारको इमानदारीमाथि कुनै शंका नभएपनि राज्य सञ्चालनलाई अझै प्रभावकारी बनाउनुपर्ने बताए। उनले राज्य सञ्चालन, लोकतन्त्रको रक्षा र संविधान संरक्षणका लागि राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वासलाई सरकारले मूलमन्त्र बनाउनुपर्ने बताए।
उनले भनेका थिए, ‘अहिले राज्य सञ्चालन र लोकतन्त्रको रक्षा तथा संविधानको संरक्षणमा के मुलमन्त्र आवश्यक छ भनेर हेर्दाखेरी मलाई के लाग्छ भने राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वास। यो दुई वटा कुरालाई मुलमन्त्र बनाएर हामीले राज्य सञ्चालनदेखि सबै कुराहरु त्यसमा केन्द्रित गर्यो भने हामी केही हासिल गर्न सक्छौँ।’
नेता झाले आफूलाई सबै कुरा थाहा छ भन्ने सोचले राज्य सञ्चालनमा समस्या निम्त्याउन सक्ने भन्दै अज्ञानता स्वीकार गरेर सिक्ने संस्कारको विकास गर्नुपर्नेमा समेत जोड दिए।


प्रतिक्रिया