काठमाडौं-कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह तिलौराकोट सामुदायिक जंगलमा मृत भेटिएका छन्। शुक्रबारदेखि सम्पर्कविहीन भएका ६५ वर्षीय सिंहको शव निरन्तर खोजी गर्ने क्रममा आइतबार जंगलमा भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले सिंहको खोजी गर्ने क्रममा जंगलको बीच भागमा शव भेटिएको जानकारी दिए। उनका अनुसार सिंहले प्रयोग गर्ने मोटरसाइकल पनि जंगलमै भेटिएको थियो ।
सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु नगरपालिका–३ स्थित घरबाट निस्किएका थिए । त्यसको करिब डेढ घण्टापछि साढे ३ बजेतिर उनले आफू निकटका केही व्यक्तिलाई फोन गरी ‘जंगलमा बाटो बिर्सिएँ’ भनेका थिए ।
त्यसपछि आफन्तसहितको टोली खोजीमा निस्किएको थियो। खोजीका क्रममा पूर्व–पश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगल क्षेत्रमा उनले प्रयोग गर्ने लु.प्र.०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो ।
सिंह आफ्नो समूहले सञ्चालन गर्ने कृषि फार्मतर्फ जाने क्रममा जंगलमा हराएको स्थानीयले बताएका छन् । छोटो बाटो हुने भन्दै जंगलको बाटो प्रयोग गर्दा उनी हराएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया