काठमाडौं-३२ औं विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंमा विभिन्न आदिवासी जनजाति समुदायको सहभागितामा भव्य सांस्कृतिक र्याली आयोजना गरिएको छ।
आइतबार भृकुटीमण्डपबाट सुरु भएको र्यालीमा विभिन्न आदिवासी जनजाति समुदायका सहभागीहरूले आफ्नो मौलिक भेषभूषा, बाजागाजा, सांस्कृतिक झाँकी, लोकगीत तथा नृत्य प्रस्तुत गरेका थिए। र्याली भद्रकाली, सहिदगेट, सुन्धारा र वीर अस्पताल क्षेत्र हुँदै खुलामञ्चमा पुगेर मूल समारोहमा परिणत भएको थियो।
र्यालीमा नेवार, मगर, तामाङ, शेर्पा, गुरुङ, थकाली, दुरा, माझी, याख्खा, राजवंशी, सुनुवार, ह्योल्मो लगायतका समुदायले आफ्नो सांस्कृतिक पहिचान झल्कने झाँकी तथा प्रस्तुति प्रदर्शन गरेका थिए। कार्यक्रममा काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाबाट आएका हजारौं आदिवासी जनजाति प्रतिनिधि, युवा, महिला, विद्यार्थी, कलाकार तथा सांस्कृतिक समूहको उल्लेख्य सहभागिता रहेको थियो।
समारोहमा सरकारका उच्च पदस्थ अधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कूटनीतिक नियोगका सदस्य, नागरिक समाज, मानवअधिकारकर्मी, शिक्षाविद्, कलाकार तथा सञ्चारकर्मीको पनि सहभागिता रहेको थियो। नेपाल आदिवासी जनजाति महासंघले विश्व आदिवासी दिवस आदिवासी समुदायको इतिहास, भाषा, संस्कृति, परम्परागत ज्ञान, प्राकृतिक स्रोतसँगको सम्बन्ध तथा अधिकारका विषयलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने महत्वपूर्ण अवसर भएको जनाएको छ।
महासंघका अनुसार संविधानमा सुनिश्चित गरिएका अधिकारको प्रभावकारी कार्यान्वयन, समानुपातिक तथा समावेशी प्रतिनिधित्व, मातृभाषामा शिक्षा, भूमि तथा प्राकृतिक स्रोतमा अधिकार र सांस्कृतिक सम्पदाको संरक्षण अझै पनि महत्वपूर्ण मुद्दाका रूपमा रहेका छन्।
विश्वभरका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्या र सरोकारबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष अगस्ट ९ मा विश्व आदिवासी दिवस मनाइँदै आएको छ। यस वर्ष पनि नेपालसहित विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम आयोजना गरी दिवस मनाइएको छ।


प्रतिक्रिया