अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

असन्तोषलाई उपयोग गर्दै बाह्य शक्तिले नेपालमा अस्थिरता निम्त्याउन खोजे: प्रदीप ज्ञवाली

असन्तोषलाई उपयोग गर्दै बाह्य शक्तिले नेपालमा अस्थिरता निम्त्याउन खोजे: प्रदीप ज्ञवाली


काठमाडौं-नेकपा (एमाले)का नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल गम्भीर राजनीतिक अस्थिरताको चरण पार गरेर लोकतान्त्रिक प्रक्रियामार्फत अघि बढिरहेको बताएका छन्।

क्युबामा आयोजित कम्युनिस्ट तथा मजदुर पार्टीहरूको २५औँ अन्तर्राष्ट्रिय बैठकलाई सम्बोधन गर्दै नेता ज्ञवालीले नेपालमा भएको जेनजी आन्दोलन, त्यसपछिको राजनीतिक घटनाक्रम र वर्तमान अवस्थाबारे जानकारी गराएका हुन्।

नेता ज्ञवालीले जेनजी आन्दोलनका रूपमा सुरु भएको प्रदर्शन पछि हिंसा र विनासतर्फ मोडिएको दाबी गर्दै सार्वजनिक संस्थाहरू आक्रमणको निशाना बनेको, ऐतिहासिक सम्पदामा क्षति पुगेको तथा लोकतान्त्रिक संरचनाहरू कमजोर बनाइएको बताएका छन्। आफ्नो मन्तव्यमा उनले निर्वाचित सरकार ढलेको र संसद् विघटन भएको प्रसंगसमेत उल्लेख गरेका छन्।

नेता ज्ञवालीले देशभित्र रहेको असन्तोषलाई उपयोग गर्दै बाह्य शक्तिहरूले राजनीतिक अस्थिरता सिर्जना गर्न खोजेको भन्दै त्यसप्रति चिन्ता व्यक्त गरे। यद्यपि नेपाली जनताले लोकतान्त्रिक प्रक्रिया र जनमतमार्फत परिस्थितिको सामना गरेको उनको भनाइ थियो।

बैठकमा बोल्दै नेता ज्ञवालीले क्युबाले लामो समयदेखि नाकाबन्दी र बाह्य दबाबका बीच पनि आफ्नो स्वाभिमान कायम राख्दै संघर्ष गरेको उल्लेख गर्दै क्युबाली जनताको दृढताको प्रशंसा गरे।

विश्व राजनीति, शक्ति सन्तुलनमा आएको परिवर्तन तथा वामपन्थी दलहरूबीचको अन्तर्राष्ट्रिय सहकार्यबारे पनि ज्ञवालीले आफ्नो धारणा राखेका थिए। उनले वर्तमान विश्व परिस्थितिमा समाजवादी सिद्धान्त र कार्यक्रमहरूको आवश्यकता अझ सान्दर्भिक बन्दै गएको उल्लेख गर्दै त्यसका पक्षमा विभिन्न तथ्य र तर्क प्रस्तुत गरेका थिए।