काभ्रे-लेदोसहितको पहिरो सडकमा थुप्रिँदा बीपी राजमार्ग आज बिहानदेखि पूर्णरूपमा अवरुद्ध भएको छ। आइतबार साँझदेखि परेको अविरल वर्षासँगै सडक माथिबाट पहिरो खसेपछि रोशी गाउँपालिका-९ अन्तर्गत पिन्थली र नार्के क्षेत्रमा यातायात अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार सोमबार बिहान करिब ४ बजे लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो। पहिरोका कारण राजमार्गमा सवारीसाधन आवतजावत ठप्प भएको छ।
प्रहरीका अनुसार सडक डिभिजन कार्यालय भक्तपुरसँग समन्वय गरी पहिरो पन्छाउने प्रयास भइरहेको छ। वर्षाका कारण थप पहिरो खस्न सक्ने जोखिम रहेकाले प्रहरीले बीपी राजमार्गमा यात्रा गर्दा सावधानी अपनाउन तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।
बर्खा सुरु भएदेखि नै बीपी राजमार्गमा रातको समयमा सवारी आवागमन पूर्णरूपमा बन्द गरिँदै आएको छ। अहिले भने पहिरोका कारण बिहानको समयमा समेत राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया