अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

आज यी प्रदेशमा ठूलो वर्षाको सम्भावना


काठमाडौं-जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर सामान्यतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोशी, मधेस र कर्णाली प्रदेशका थोरै स्थानमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाले सोमबार बिहान ८ बजे जारी गरेको मौसम बुलेटिनअनुसार दिउँसो पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षा हुने अनुमान गरिएको छ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ।

राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भूभागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।

मधेस र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा समेत मध्यम वर्षाको सम्भावना छ। राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थान, कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना छ। तीमध्ये एक–दुई स्थानमा धेरै भारी वर्षा समेत हुनसक्ने महाशाखाले जनाएको छ।

काठमाडौं उपत्यकामा निरन्तर वर्षा

काठमाडौं उपत्यकामा सोमबार बिहानैदेखि निरन्तर वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार उपत्यकाका अधिकांश स्थानमा पछिल्लो करिब ६ घण्टादेखि हल्का वर्षा भइरहेको थियो।

उनका अनुसार बिहान ८–९ बजेतिर मौसम केही सुधार हुने सम्भावना भए पनि दिउँसो पुनः वर्षा हुने देखिएको छ। दिउँसो काठमाडौं उपत्यकामा मध्यमसम्म वर्षा हुनसक्ने र निरन्तर पानी परे केही स्थानमा भारी वर्षासमेत हुनसक्ने मौसमविद् लामिछानेले बताएका छन्।

कस्तो वर्षालाई हल्का, मध्यम र भारी भनिन्छ?

मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम वर्षा भए हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म मध्यम वर्षा र ५० देखि १०० मिलिमिटरसम्म वर्षा भए भारी वर्षा भनिन्छ।

त्यस्तै, २४ घण्टामा १०० देखि २०० मिलिमिटरसम्म पानी परे धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा बढी वर्षा भए अति भारी वर्षा भएको मानिन्छ।

‘एक–दुई स्थान’ र ‘धेरै स्थान’ भन्नाले के बुझिन्छ?

मौसम पूर्वानुमानमा प्रयोग हुने ‘एक–दुई स्थान’ भन्नाले सम्बन्धित क्षेत्रको १० प्रतिशतभन्दा कम भूभागमा वर्षा हुने सम्भावनालाई जनाउँछ।

१० देखि ३० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना भए ‘थोरै स्थान’, ३० देखि ५० प्रतिशतमा भए ‘केही स्थान’, ५० देखि ८० प्रतिशतमा भए ‘धेरै स्थान’ र ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुने सम्भावना भए ‘अधिकांश स्थान’ मा वर्षा हुने भनिन्छ।