काठमाडौं-प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत देशभरका करार तथा ज्यालादारी कर्मचारीहरूले आफ्ना माग सम्बोधन नभएको भन्दै भक्तपुरको सानोठिमीस्थित केन्द्रीय कार्यालय घेराउ गरेका छन्।
सीटीईभीटीका ६७ वटा आङ्गिक शिक्षालयमा कार्यरत करिब २ हजार २ सय करार तथा ज्यालादारी कर्मचारीहरू लामो समयदेखि समान प्रकृतिको काम गर्दा पनि सेवा-सुविधा र पारिश्रमिकमा विभेद गरिएको भन्दै आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले साउन १४ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गरेका थिए।
आन्दोलनरत कर्मचारीहरूले व्यवस्थापनले आफ्ना मागप्रति कुनै सुनुवाइ नगरेपछि दबाबस्वरूप केन्द्रीय कार्यालय घेराउ गर्न बाध्य भएको बताएका छन्। उनीहरूले समान कामका लागि समान ज्यालाको व्यवस्था गर्नुपर्ने, स्थानीय भत्ता, दुर्गम भत्ता, महँगी भत्ता, प्रोत्साहन भत्ता तथा सामाजिक सुरक्षा सुनिश्चित गर्नुपर्ने माग राखेका छन्।
यस्तै, कर्मचारीहरूले पेसागत स्थायित्वको ग्यारेन्टी गर्नुपर्ने र लामो समयदेखि करार तथा ज्यालादारी रूपमा कार्यरत कर्मचारीमाथिको विभेद अन्त्य गर्नुपर्ने माग समेत अघि सारेका छन्। माग पूरा नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी उनीहरूले दिएका छन्।


प्रतिक्रिया