अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंहदरबारको नाम फेर्ने बहसप्रति शंकर पोखरेलको व्यङ्ग्य: ‘सिंह सुशासन र शक्तिको प्रतीक हो’

सिंहदरबारको नाम फेर्ने बहसप्रति शंकर पोखरेलको व्यङ्ग्य: ‘सिंह सुशासन र शक्तिको प्रतीक हो’


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने बहसप्रति व्यंग्यात्मक टिप्पणी गरेका छन्।

साउन २४ गते आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले मुलुकको प्रमुख प्रशासनिक केन्द्र ‘सिंहदरबार’को नाम परिवर्तन गरेर ‘अनामनगर दरबार’ राख्नुपर्ने बताएका थिए।

त्यसको प्रतिवाद गर्दै एमाले महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत पुर्खाहरूले सिंहलाई किन शक्ति, सात्विकता र पहरेदारको प्रतीक मानेर मठमन्दिरका ढोकामा सजाएका हुन् भन्ने कुराको गम्भीर अर्थ रहेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले जङ्गलका राजा सिंहका रोचक तथ्य र स्वभावहरू प्रस्तुत गर्दै सिंहको अनुशासन र रक्षात्मक क्षमतालाई राज्यको सुशासनसँग जोडेका छन्। 

महासचिव पोखरेलले ‘सिंहदरबार, राजनीति र जङ्गलका राजा सिंहका रोचक तथ्यहरू’ शीर्षकमा आफ्नो धारणा सार्वजनिक गर्दै सिंहको अनुशासन र रक्षात्मक क्षमतालाई राज्यको सुशासनसँग जोडेका छन्। 

महासचिव पोखरेलले सिंहको सामाजिक संरचना, आफ्नो क्षेत्रको सुरक्षा, शक्तिशाली गर्जन, भूमिकाको बाँडफाँड, ऊर्जा सञ्चय तथा आफ्नो दायरामा सीमित रहने स्वभावलाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।

महासचिव पोखरेलका अनुसार सिंह अन्य जङ्गली बिरालो प्रजातिजस्तो एक्लै नभई निश्चित र अनुशासित समूहमा बस्छ। आफ्नो क्षेत्रको सुरक्षा गर्न उसले विशेष ध्यान दिने तथा आफ्नो समूहलाई बाह्य आक्रमणबाट जोगाउने उनको भनाइ छ। सिंहको गर्जन करिब ८ किलोमिटर टाढासम्म सुनिने उल्लेख गर्दै उनले त्यसलाई आफ्नो शक्ति र उपस्थितिको संकेतका रूपमा व्याख्या गरेका छन्।

त्यस्तै, सिंहको समूहमा भूमिकाको बाँडफाँड हुने र मुख्यतः सिंहीहरूले शिकार गर्ने भए पनि शिकारको पहिलो भाग समूहको नेतृत्व गर्ने सिंहले ग्रहण गर्ने पोखरेलले उल्लेख गरेका छन्। दिउँसो आराम गरी ऊर्जा सञ्चय गर्ने र राति बढी सक्रिय हुने तथा अनावश्यक रूपमा आफ्नो क्षेत्रभन्दा बाहिर नघुम्ने स्वभाव पनि उनले औँल्याएका छन्।

‘सिंह एक्लै नबसी एउटा निश्चित र अनुशासित समूहमा बस्छ। आफ्नो क्षेत्रको रक्षामा सिंह अभूतपूर्व रूपमा सचेत हुने गर्दछ । ८ किलोमिटर टाढासम्म सुनिने उसको गर्जनले शक्तिको प्रदर्शन गर्ने , पोथीले शिकार गर्ने र समूहको नेताले पहिलो भाग ग्रहण गर्ने, दिउँसो आराम गरेर ऊर्जा बचाउने र राति सक्रिय हुने, बिनाकारण आफ्नो इलाकाभन्दा बाहिर नभौँतारिने सिंहका विशेषता छ’, महासचिव पोखरेलले उल्लेख गरेका छन्। 

यिनै अनुशासन, नियम, रक्षात्मक क्षमता र गम्भीरताका कारण पुर्खाहरूले सिंहलाई शक्ति र सुशासनको प्रतीकका रूपमा राज्यका संरचना तथा मन्दिरहरूमा स्थान दिएको हुनसक्ने पोखरेलको तर्क छ। महासचिव पोखरेलले  लेखेका छन्, ‘राज्य आफैँमा शक्तिको प्रतीक हो। नागरिकलाई सुरक्षा दिनु र अपराधीहरूमा भय पैदा गर्न सक्नु राज्यको मूल विशेषता हो।’

महासचिव पोखरेलले राज्यलाई आफैँमा शक्तिको प्रतीकका रूपमा व्याख्या गर्दै नागरिकलाई सुरक्षा र भरोसा दिनु तथा देशद्रोही र अपराधीमा राज्यको भय पैदा गर्न सक्नु राज्यको मूल विशेषता भएको बताएका छन्।

नेपाल राज्य कमजोर बनेको अवस्थामा राज्यको शक्तिको प्रतीकका रूपमा रहेको बिम्बप्रति नै अनास्था र अविश्वास पैदा गर्नु उचित नहुने उनको टिप्पणी छ।

महासचिव पोखरेलको यो अभिव्यक्ति पछिल्लो समय ‘सिंहदरबार’को नाम परिवर्तन गर्नुपर्ने बहससँग जोडिएको राजनीतिक व्यंग्यका रूपमा आएको देखिन्छ।

वर्तमान समयमा नेपाल राज्य आफैँमा कमजोर बनिरहेका बेला शक्तिको प्रतीक मानिने सिंहदरबार जस्ता ऐतिहासिक बिम्बहरूमाथि अनास्था र अविश्वास पैदा गर्नु उचित नहुने पोखरेलको भनाइ छ।

महासचिव पोखरेलले राज्यका संरचना र नामहरू केवल नाम मात्र नभएर ती संस्थाको शक्ति र गम्भीरताको पहिचान भएको समेत उल्लेख गरेका छन्।

एमालेका महासचिव शंकर पोखरेलकाे व्यंग्यात्मक टिप्पणी

सिंहदरबार, राजनीति र जङ्गलका राजा ‘सिंह’ का रोचक तथ्यहरू! 🦁🏛️

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माननीयज्यूले ‘सिंहदरबार’ को नाम नै परिवर्तन गर्नुपर्ने पैरवी गरेपछि सिंहदरबार र ‘सिंह’ को चर्चा पुनः चुलिएको छ।

यसै प्रसङ्गमा, हाम्रा पुर्खाहरूले सिंहलाई किन शक्ति, सात्विकता र पहरेदारको प्रतीक मानेर मठमन्दिरको ढोकामै सजाएर राखे होलान्? आउनुहोस्, जङ्गलका राजा ‘सिंह’ का केही चाखलाग्दा र रोचक स्वभावबारे चर्चा गरौँ:

🔹 अनुशासित सामाजिक समुह: सिंह अन्य जङ्गली बिराला प्रजातिजस्तै एक्लै होइन, एउटा निश्चित र अनुशासित समूह (Pride) बनाएर बस्छ।

🔹 इलाकाको कडा सुरक्षा: सिंहले आफ्नो क्षेत्र (Territory) को सुरक्षामा अभूतपूर्व ध्यान दिन्छ र अर्को समूहबाट हुने आक्रमणबाट आफ्नो समुहको रक्षा गर्छ।

🔹 शक्तिशाली गर्जन: आफ्नो उपस्थिति र शक्तिको प्रदर्शनका लागि उसले गर्ने गर्जन कोसौँ टाढासम्म (लगभग ८ किमी) स्पष्ट सुनिन्छ।

🔹 भूमिकाको बाँडफाँड: भाले सिंह स्वयंभन्दा पोथी सिंहहरू (सिंही) ले मुख्य शिकार गर्छन्, तर शिकारको पहिलो भाग भने समुहको नेता सिंहले नै ग्रहण गर्छ।

🔹 निशाचर र शक्ति सञ्चय: दिउँसोको समय आराम गरेर ऊर्जा बचाउने र रातिको समयमा बढी सक्रिय हुने उसको बानी हुन्छ।

🔹 आफ्नो दायरामा सीमित: उ बिनाकारण आफ्नो इलाकाभन्दा बाहिर भौँतारिँदैन।

सायद सिंहको यही नियम, अनुशासन, रक्षात्मक क्षमता र गम्भीरताका कारण नै हाम्रा पूर्वजहरूले यसलाई शक्ति र सुशासनको प्रतीकका रूपमा राज्यका संरचना र मन्दिरहरूमा स्थान दिएका हुन् कि !

राज्य आफैँमा शक्तिको प्रतीक हो। नागरिकलाई सुरक्षा र भरोसा दिनु तथा देशद्रोही र अपराधीहरूमा भय पैदा गर्न सक्नु राज्यको मूल विशेषता हो। यतिबेला नेपाल राज्य नै कमजोर बनेको स्थितिमा शक्तिको त्यही बिम्ब (प्रतीक) प्रति नै अनास्था र अविश्वास पैदा गर्नु कत्तिको उचित होला र ?