काठमाडौँ-प्रतिनिधि सभाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ बहुमतले पारित गरेको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको विधेयक पारित गरिएको हो ।
बैठकमा सभामुख डोलप्रसाद अर्यालले विधेयकको दफा २ (साविकको व्यवस्था जगाउने सम्बन्धी व्यवस्था) लाई निर्णयार्थ प्रस्तुत गरेका थिए । दफाको पक्षमा बहुमत सांसदहरूले ‘हुन्छ’ भनी ध्वनि मत प्रकट गरेपछि सभामुख अर्यालले विधेयक पारित भएको घोषणा गरे ।
राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफल हुँदा उक्त विधेयकमा कुनै पनि संशोधन प्रस्ताव नपरेकाले प्रतिवेदनमाथि थप निर्णय गरिरहनु नपरेको सभामुखले सदनलाई जानकारी गराएका थिए ।
विधेयक पारित हुनुअघि सभामुखले विधेयकको प्रस्तावना र नामलाई समेत निर्णयार्थ प्रस्तुत गरेका थिए । यो विधेयक पारित भएसँगै नेपाल विशेष सेवा (गुप्तचरी निकाय) सँग सम्बन्धित २०४२ सालको ऐनका केही महत्वपूर्ण कानुनी व्यवस्थाहरू पुनर्जीवित हुने भएका छन् ।
विशेषगरी राष्ट्रिय सुरक्षा र सूचना संकलनलाई थप प्रभावकारी बनाउन साविकका व्यवस्थाहरूलाई ब्युँताउनु आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको थियो ।


प्रतिक्रिया