काठमाडौं-सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र नेपाल सरकारबीच सातबुँदे सहमति भएको छ।
गृहमन्त्री सुधन गुरुङ र मृतक मेहताका अभिभावकबीच आज भएको सहमतिअनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने भएको छ।
सहमतिमा साउन १० गते राति देवानगञ्ज-३, कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीलाई प्रचलित कानुनबमोजिम कारबाही अघि बढाउने उल्लेख छ। यस्तै, देवानगञ्ज-३ स्थित मदरसाको कानुनी हैसियतलगायत सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गर्ने सहमति भएको छ।
सरकारले मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारी उपलब्ध गराउन आवश्यक पहल गर्ने भएको छ। घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिस प्रचलित कानुनबमोजिम कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढाउने पनि सहमतिमा उल्लेख छ।
त्यसैगरी, सरकारले मृतक रवीन्द्रकुमार मेहताको शव नेपाली सेनाको हेलिकोप्टरमार्फत देवानगञ्ज गाउँपालिका–३, सुनसरी पुर्याउने र दाहसंस्कारको व्यवस्था गर्ने सहमति गरेको छ।
घटनामा मृत्यु भएका तीन जनाको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँगको समन्वयमा यसै वर्ष बजेट विनियोजन गरी स्मृति पार्क निर्माण गर्ने सहमति पनि भएको छ।


प्रतिक्रिया