म्याग्दी-म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६, पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा मंगलबार बिहान पहिरो खस्दा एक जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन्।
पहिरोले विद्युतगृहमा कार्यरत अन्नपूर्ण गाउँपालिका-६ का ५५ वर्षीय दीपक बरुवाललाई पुरेपछि उनी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। घटनामा गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएका छन्।
प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार बेपत्ता बरुवालको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि तथा स्थानीयवासीको टोली परिचालन गरिएको छ। घाइते विकलाई घटनास्थलबाट उद्धार गरी प्राथमिक उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल बेनी पठाइएको छ।
माथिल्लो भागको पहाडबाट ढुंगासहितको सुक्खा पहिरो खस्दा विद्युत्गृह पुरिएको प्रहरीले जनाएको छ।
पहिरोका कारण म्याग्दी हाइड्रोपावर प्रवर्द्धक रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा रहेका उपकरणमा समेत क्षति पुगेको छ। उपकरणमा क्षति पुगेपछि आयोजनाबाट विद्युत् उत्पादनसमेत बन्द भएको छ।


प्रतिक्रिया