अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाढी-पहिरोले देशभरका प्रमुख राजमार्ग अवरुद्ध

बाढी-पहिरोले देशभरका प्रमुख राजमार्ग अवरुद्ध


काठमाडौँ-पछिल्ला केही दिनदेखि जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सडक खण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।

बागमती प्रदेशमा वीपी राजमार्ग र कान्ति लोकपथमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै वीपी राजमार्गको काभ्रे खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म र कान्ति लोकपथको मकवानपुर खण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ।

यसैगरी, अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको लिपिङ, कोदारी र चारकिलो क्षेत्रमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक खण्ड पनि बाढीका कारण लामो समयदेखि बन्द रहेको छ।

कोशी प्रदेशको इलामस्थित मेची राजमार्ग (झापा–ताप्लेजुङ सडक) अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। भोजपुरस्थित मध्यपहाडी लोकमार्ग भने बाढीका कारण एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको लमजुङस्थित मध्यपहाडी लोकमार्ग पहिरोका कारण पूर्ण रूपमा ठप्प छ भने बागलुङको कालीगण्डकी करिडोर एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

यस्तै, कर्णाली प्रदेशको रुकुम पश्चिममा भेरी करिडोर तथा सुदूरपश्चिम प्रदेशको बाजुरा हुँदै जाने कर्णाली करिडोरअन्तर्गत कालीकोट–हुम्ला सडक खण्ड बाढी र पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।

लगातारको वर्षाका कारण सडक तथा राजमार्गमा थप क्षति हुनसक्ने भन्दै नेपाल प्रहरीले राजमार्गको पछिल्लो अवस्था बुझेर मात्र यात्रा तय गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। जोखिमपूर्ण सडक तथा पहिरो सम्भावित क्षेत्रमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनसमेत प्रहरीले अनुरोध गरेको छ।