अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार व्यवसायी होइन, सहजीकर्ता बन्नुपर्छ: अध्यक्ष श्रेष्ठ

सरकार व्यवसायी होइन, सहजीकर्ता बन्नुपर्छ: अध्यक्ष श्रेष्ठ


काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको औद्योगिक विकास र रोजगारी सिर्जनाका लागि सरकारले निजी क्षेत्रलाई सहुलियत, प्रोत्साहन तथा लगानीमैत्री वातावरण उपलब्ध गराउनुपर्ने बताएका छन्।

मंगलबार काठमाडौंमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले वर्तमान आर्थिक परिस्थितिमा निजी क्षेत्रले ऋण लिएर लगानी गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै लगानी विस्तारका लागि सरकारी सहयोग आवश्यक रहेको बताए।

अध्यक्ष श्रेष्ठले अटोमोबाइल क्षेत्रमा नक्कली तथा गुणस्तरहीन पार्टपुर्जा र ब्याट्रीको आयात बढ्दो चुनौतीका रूपमा देखिएको भन्दै भन्सार विभाग, यातायात व्यवस्था विभाग तथा सम्बन्धित निकायले कडा निगरानी गर्नुपर्नेमा जोड दिए। ‘राजस्व संकलनकै नाममा नेपाललाई गुणस्तरहीन वस्तुको डम्पिङ साइट बन्न दिनु हुँदैन,’ अध्यक्ष श्रेष्ठले भने।

अध्यक्ष श्रेष्ठले मुलुकको कुल रोजगारीमध्ये करिब ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले सिर्जना गरिरहेको उल्लेख गर्दै हरेक वर्ष श्रम बजारमा आउने पाँचदेखि छ लाख युवामध्ये ठूलो हिस्सालाई निजी क्षेत्रले नै रोजगारी प्रदान गरिरहेको बताए। युवाको विदेश पलायन रोक्न स्वदेशमै रोजगारी सिर्जना गर्ने नीति आवश्यक रहेको उनको भनाइ थियो।

नेपाल हाल करिब ७० प्रतिशत आयातमा निर्भर रहेको र आन्तरिक उत्पादनको हिस्सा केवल ३० प्रतिशत रहेको उल्लेख गर्दै उनले आयात प्रतिस्थापनका लागि एसेम्ब्लिङ तथा कन्ट्र्याक्ट म्यानुफ्याक्चरिङ उद्योगलाई प्रोत्साहन गर्न सुझाव दिए।

सरकार उद्योग सञ्चालनमा प्रत्यक्ष संलग्न हुनुभन्दा निजी क्षेत्रलाई प्रतिस्पर्धी वातावरण उपलब्ध गराउने भूमिकामा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गर्दै श्रेष्ठले सरकारी र निजी क्षेत्रबीच समान प्रतिस्पर्धाको वातावरण सुनिश्चित गर्न आग्रह गरे। सरकारी उद्योगलाई अनुदान दिने तर निजी उद्योगलाई प्रतिस्पर्धामा मात्र छाड्ने दोहोरो नीति उचित नहुने उनको भनाइ थियो।

अध्यक्ष श्रेष्ठले हेटौँडा कपडा उद्योगलगायत बन्द सरकारी उद्योग पुनः सञ्चालन गर्ने सरकारी प्रयासलाई स्वागतयोग्य बताए पनि वर्षौँदेखि बन्द तथा समस्याग्रस्त निजी उद्योगहरूको पुनरुत्थानमा पनि सरकारले समान रूपमा ध्यान दिनुपर्ने बताए।

‘सरकारी उद्योग सञ्चालन गर्ने प्रयास सकारात्मक छ, तर त्यससँगै रुग्ण तथा बन्द निजी उद्योगलाई पुनर्जीवन दिने नीति पनि अघि बढ्नुपर्छ,’ अध्यक्ष श्रेष्ठले भने।