काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत एक इन्जिनियर र एक लेखा अधिकृतविरुद्ध ६ लाख रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मुद्दा दायर गरिएकाहरूमा चुलाचुली गाउँपालिकाका इन्जिनियर (छैटौँ तह) डिल्ली राज खड्का र लेखा अधिकृत (आठौँ तह) मिलन कुमार भट्टराई रहेका छन्। अख्तियारका अनुसार पुलको डिजाइन तथा रिडिजाइन स्वीकृत गराउने, थर्ड पार्टी भेरिफिकेसन तथा ठेक्कासम्बन्धी बिल भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै उनीहरूले सेवाग्राहीसँग घुस मागेका थिए।
उजुरीका आधारमा अख्तियारको टंगाल र इटहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले इन्जिनियर खड्कालाई सेवाग्राहीबाट ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा इन्जिनियर खड्का र लेखा अधिकृत भट्टराईको आपसी मिलेमतो तथा योजनाअनुसार पुलको डिजाइन, रिडिजाइन, भेरिफिकेसन र भुक्तानीसम्बन्धी काम सम्पन्न गरिदिने नाममा सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।
अख्तियारले दुवै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) अन्तर्गत कसुर कायम गरी ६ लाख रुपैयाँ बिगो दाबी गरेको छ। साथै सोही ऐनबमोजिम कैद तथा बिगोबराबर जरिवाना सजायको माग गर्दै बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।



प्रतिक्रिया