काठमाडौं-रोजगारीका लागि जापान पठाइदिने प्रलोभन देखाएर ११५ जनाबाट २ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-७ चाङ्गाथली निवासी २९ वर्षीय प्रतीक बुढाथोकी रहेका छन्। उनी ग्याट्सबी इन्टरनेसनल प्रालिका सीईओ हुन्।
प्रहरीका अनुसार वैदेशिक रोजगार विभागबाट जारी भएको पक्राउ पुर्जीका आधारमा बुढाथोकीलाई सोमबार बुटवलबाट पक्राउ गरिएको हो। उनले ग्याट्सबी इन्टरनेसनल प्रालिमार्फत ११५ जनालाई जापानमा रोजगारीका लागि पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट कुल २ करोड ८० लाख रुपैयाँ उठाएको आरोप छ।
बुढाथोकीमाथि वैदेशिक रोजगारसम्बन्धी ठगीको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका उनलाई थप कारबाही तथा अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।


प्रतिक्रिया