काठमाडौं-सरकारले हालै सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्रकुमार मेहता तथा सिराहाका गणेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो।
बैठकका निर्णय सार्वजनिक गर्दै शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले गृह मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरिएको जानकारी दिए। सरकारले यस निर्णयले पीडित परिवारलाई राहत र न्यायको अनुभूति गराउने विश्वास व्यक्त गरेको छ।
मन्त्रिपरिषद्ले स्वास्थ्य सेवा र वातावरण संरक्षणलाई प्रोत्साहन गर्न विद्युतीय एम्बुलेन्स तथा शव वाहनमा लाग्ने पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने निर्णय पनि गरेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा नेपालभित्र आयात हुने वा स्वदेशमै उत्पादन हुने विद्युत्बाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा उक्त सुविधा दिने निर्णय भएको हो।
बैठकले बाराका निर्मलकुमार उप्रेतीलाई वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको छ। साथै नेपाल–पोर्चुगल सम्बन्धलाई थप सुदृढ बनाउन पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय स्थापना गर्न अनुमति दिने निर्णय पनि गरेको छ।
यस्तै, एनसेलको सेयर खरिद–बिक्री प्रकरणबारे पूर्व महालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित छानबिन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
प्रवक्ता पोखरेलले प्रधानमन्त्री बालेन शाहको आगामी विदेश भ्रमण तथा छिमेकी मित्रराष्ट्रका उच्च अधिकारीहरूको नेपाल भ्रमणका विषयमा सम्बन्धित मन्त्रालयहरूले आवश्यक प्रोटोकलअनुसार तयारी गरिरहेको जानकारी दिए।
वैकल्पिक हेडिङहरू :


प्रतिक्रिया