अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आवासीय र इन्टर्न चिकित्सकले गरे आन्दोलनको घोषणा

आवासीय र इन्टर्न चिकित्सकले गरे आन्दोलनको घोषणा


काठमाडौँ-चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा व्याप्त विकृति, अनियमितता र श्रम शोषणविरुद्ध ‘चिकित्सा शिक्षा सङ्घर्ष अभियान’ले देशव्यापी चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। निजी मेडिकल कलेज एसोसिएसनले सिट तथा शुल्क वृद्धि गर्न दबाब सिर्जना गर्दै आवासीय (रेसिडेन्ट) र इन्टर्न चिकित्सकहरूको नियमित पारिश्रमिक रोकेको भन्दै अभियानले त्यसको विरोध गरेको हो।

अभियानले पहिलो चरणअन्तर्गत बुधबार दिउँसो १ बजेदेखि देशभरका पिजी (स्नातकोत्तर तह) तथा इन्टर्न चिकित्सकहरूले ‘पेनडाउन’ कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। कलेज सञ्चालकहरूले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आन्दोलनमा उत्रिन बाध्य पार्दै राज्यमाथि गैरकानुनी र अवैज्ञानिक दबाब सिर्जना गर्न खोजेको निष्कर्ष अभियानले निकालेको छ।

अभियानका संयोजक मनिष भट्टराई, प्रवक्ता धनबहादुर तामाङ र महासचिव सौगात पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा देशभरका आवासीय तथा इन्टर्न चिकित्सक, मेडिकल अफिसर, स्वास्थ्यकर्मी र सरोकारवालाहरूलाई आन्दोलनमा सक्रिय सहभागिता जनाउन अपिल गरिएको छ।

विज्ञप्तिमा अर्बौं रुपैयाँ कारोबार गर्ने निजी मेडिकल कलेजहरूले नाफामा हुँदाहुँदै पनि घाटाको अपारदर्शी विवरण प्रस्तुत गर्ने गरेको आरोप लगाइएको छ। साथै, एक वर्षे अनिवार्य सेवाका नाममा चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई अत्यन्त न्यून पारिश्रमिकमा काम गर्न बाध्य बनाइ अस्पतालभित्रै चरम श्रम शोषण भइरहेको दाबी गरिएको छ।

अभियानले लाखौँ रुपैयाँ खर्च गरेर अध्ययन पूरा गरेका स्वास्थ्यकर्मीहरू न्यून पारिश्रमिक, बेरोजगारी र विदेश पलायनको समस्या झेलिरहेका बेला मेडिकल कलेजहरू केवल सिट र शुल्क वृद्धि केन्द्रित हुनु विडम्बनापूर्ण रहेको जनाएको छ।

निजी मेडिकल कलेजहरूको नियमन गर्ने निकायहरू प्रभावकारी र जवाफदेही बन्न नसक्दा हरेक वर्ष यस्ता समस्या दोहोरिने गरेको उल्लेख गर्दै अभियानले यसले राज्य नै माफियाको नियन्त्रणमा रहेको हो कि भन्ने प्रश्न उठाएको जनाएको छ। आफ्ना माग पूरा गराउन जुनसुकै हदसम्म जाने संस्थाहरूलाई प्रदान गरिने सम्बन्धन र सञ्चालन अनुमतिबारे राज्यले गम्भीर समीक्षा गर्नुपर्ने माग पनि गरिएको छ।

अभियानले आन्दोलनमा देशभरका आवासीय चिकित्सक, इन्टर्न, मेडिकल अफिसर, स्वास्थ्यकर्मी तथा बुद्धिजीवीहरूलाई सहभागी हुन आह्वान गर्दै आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले नै लिनुपर्ने चेतावनी दिएको छ।