अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भेरी नदीमा खस्यो जिप, दुई जना बेपत्ता

भेरी नदीमा खस्यो जिप, दुई जना बेपत्ता


सल्यान-सल्यानमा जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। दुर्घटना बुधबार दिउँसो करिब साढे १ बजे छिन्चु-जाजरकोट सडकखण्डअन्तर्गत वनगाड कुपिण्डे नगरपालिका–१ बाङ्गिरह नजिक भएको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीका अनुसार बालुवा सङ्ग्रीबाट सल्लीबजारतर्फ जाँदै गरेको लु १ ज ३०२२ नम्बरको जिप सडकबाट भेरी नदीमा खसेको थियो। जिपमा सवार चार जनामध्ये दुई जना पौडिएर बाहिर निस्कन सफल भएका थिए।

दुर्घटनामा वनगाड कुपिण्डे नगरपालिका–१ आँपखोलीका २९ वर्षीय प्रेम बिक र २१ वर्षीय खुमलाल बुढाथोकी घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको र सल्लीबजारस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा जिप चालक र जिप धनी भने जिपसहित भेरी नदीमा बेपत्ता भएका छन्। उनीहरूको पहिचान हालसम्म खुल्न नसकेको डीएसपी पातलीले जानकारी दिए।

बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी, अन्य सुरक्षाकर्मी र स्थानीयवासी परिचालन गरिएको छ। घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।