काठमाडौं-नेकपा एमालेका नेता डा. राजन भट्टराईले नेपालको परराष्ट्र नीति राष्ट्रिय हितलाई केन्द्रमा राखेर सञ्चालन गर्नुपर्ने बताएका छन्।
नेपाल कानुन समाज र संविधान निगरानी समूहद्वारा आयोजित ‘नेपालको परराष्ट्र नीति, अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले नेपालको भूराजनीतिक अवस्थिति संवेदनशील रहेकाले परराष्ट्र सम्बन्ध सञ्चालन गर्दा मुलुकको हित र स्वार्थलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।
डा. भट्टराईले दक्षिण एसियाली परिवेशमा नेपालले छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्धलाई विशेष महत्वका साथ अघि बढाउनुपर्ने बताए। भारत र चीनबीचको प्रतिस्पर्धा तथा सहकार्यको प्रभाव नेपालमा समेत पर्ने भएकाले त्यसलाई अवसरका रूपमा उपयोग गर्न सक्नुपर्ने उनको भनाइ थियो।
बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिमा नेपालले प्रतिस्पर्धाभन्दा सहकार्यलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उनले छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई एक अर्काविरुद्ध प्रयोग गर्नेभन्दा नेपालको आर्थिक तथा राष्ट्रिय हित प्रवर्द्धन गर्ने दिशामा केन्द्रित हुनुपर्ने बताए।
उनले भारत र चीन दुवै नेपालका लागि महत्त्वपूर्ण मुलुक रहेको उल्लेख गर्दै दुवै देशसँग सन्तुलित र विश्वासमा आधारित सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिए। नेपालको परराष्ट्र नीति कुनै बाह्य शक्तिको प्रभावमा नभई आफ्नै राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा तय हुनुपर्ने उनको धारणा थियो।
डा. भट्टराईले परराष्ट्र नीतिमा स्पष्टता, निरन्तरता र राष्ट्रिय सहमति आवश्यक रहेको पनि बताए। सरकार परिवर्तनसँगै परराष्ट्र नीतिका प्राथमिकता बदलिने अवस्था अन्त्य गर्दै दीर्घकालीन राष्ट्रिय हितमा आधारित नीति निर्माण गर्नुपर्ने उनको भनाइ थियो।


प्रतिक्रिया