हेटौँडा-उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्ज, पर्साका न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित जुरिखेतमा दुर्घटना भएको छ।
मंगलबार बिहान काठमाडौँबाट वीरगन्जतर्फ आउँदै गरेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कार्पियो दुर्घटनामा पर्दा मुख्य न्यायाधीशसहित ६ जना घाइते भएका छन्। स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५०/६० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ। ४ पुरुष र २ महिला सवार स्कारपिओ भिरमा खस्दा एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिए।
प्रहरीले घाइतेलाई उद्धार गरी उपचारका लागि भीमफेदी अस्पताल पठाएको छ। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको तथा अन्य पाँच जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घाइतेलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा पठाउने तयारी भइरहेको छ। घाइतेहरूको नाम तथा अन्य विवरण खुल्न बाँकी छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया