सुर्खेत-नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेकपा एमालेबीच कर्णाली प्रदेश सरकारको भागबन्डामा सहमति जुटेको छ। दुई दलका प्रदेश संसदीय दलबीच सरकार सञ्चालन र मन्त्रालय बाँडफाँटसहित ६ बुँदे सहमति भएको हो।
सहमति अनुसार नेकपाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिनेछ।
त्यस्तै, एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी लिने सहमति भएको छ।
दुई दलबीच प्रशासनिक संरचना सुधारका लागि यसअघि गरिएका निर्णय कार्यान्वयन गर्दै बाँकी कामलाई निरन्तरता दिने सहमति पनि भएको छ। आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गर्दा प्रदेश सभामा रहेका दलहरूबीच भएको सहमति कार्यान्वयन गर्ने निर्णय गरिएको छ।
त्यसैगरी ३० लाख रुपैयाँभन्दा माथिका योजनाहरू ठेक्का प्रक्रियामार्फत सञ्चालन गर्ने विगतको नीतिलाई निरन्तरता दिने सहमति भएको छ।
नयाँ नीति तथा कार्यक्रम, मनोनयन र नियुक्तिका विषयमा दुवै दलबीच आपसी सहमति भएपछि मात्रै प्रक्रिया अगाडि बढाइने सहमति पत्रमा उल्लेख छ ।
प्रदेश सरकारलाई सुशासन, मितव्ययिता र पारदर्शिता कायम हुने गरी सञ्चालन गर्ने प्रतिबद्धता पनि दुई दलले जनाएका छन् ।


प्रतिक्रिया