अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गभर्नर र सञ्चालकको कार्यकाल ३ वर्षमा सीमित गर्ने सहमति

गभर्नर र सञ्चालकको कार्यकाल ३ वर्षमा सीमित गर्ने सहमति


काठमाडौं-नेपाल राष्ट्र बैंकका गभर्नर तथा सञ्चालक समितिका सदस्यको कार्यकाल ५ वर्षबाट घटाएर ३ वर्ष कायम गर्ने सहमति भएको छ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा भएको दफावार छलफलका क्रममा गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल ३ वर्षमा सीमित गर्ने सहमति जुटेको हो।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा गभर्नर तथा सञ्चालक समितिका सदस्यको पदावधि घटाउने विषयमा सहमति भएको समितिका सभापति कृष्णहरि बुढाथोकीले जानकारी दिए।

हाल नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल ५ वर्षको रहेको छ। नयाँ बन्ने ऐनमा भने उक्त कार्यकाल ३ वर्ष कायम गर्ने निर्णय भएको बुढाथोकीले बताए।

त्यस्तै, डेपुटी गभर्नर र सञ्चालकको प्रारम्भिक पदावधि ३ वर्ष हुने व्यवस्था राखिने भएको छ। कार्यसम्पादन मूल्यांकनका आधारमा काम सन्तोषजनक देखिएमा नेपाल सरकारले थप २ वर्ष पदावधि बढाउन सक्ने व्यवस्था विधेयकमा कायम गर्ने निर्णय भएको बुढाथोकीले बताए।

नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथिको दफावार छलफल शुक्रबार पनि जारी रहने समितिले जनाएको छ।