काठमाडौँ-आज शुक्रबार काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लाग्नेछ।
महाशाखाले बिहान ८ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेशसहित कोसी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति पनि देशभर साधारणतया बादल लाग्नेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
त्यस्तै, कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। तराईका केही स्थानमा पनि मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

काठमाडौँ उपत्यकामा साँझ–राति वर्षाको सम्भावना
मौसमविद् डेभिड ढकालका अनुसार काठमाडौँ उपत्यकामा आज दिउँसोपछि बादल बढ्दै जाने र अपराह्न तथा साँझपख वर्षा हुने सम्भावना छ।
उनका अनुसार उपत्यकामा विशेषगरी साँझ वा राति वर्षाको सम्भावना बढी छ। वर्षा मध्यम तथा खण्डीकृत हुनसक्ने उनले बताएका छन्। खण्डीकृत वर्षा भन्नाले उपत्यकाकै कुनै स्थानमा पानी पर्ने र अर्को स्थानमा नपर्ने अवस्था बुझिन्छ।
वर्षाको मात्रा कसरी वर्गीकरण गरिन्छ?
मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम वर्षा भए हल्का, १० देखि ५० मिलिमिटरसम्म भए मध्यम र ५० देखि १०० मिलिमिटरसम्म भए भारी वर्षा भएको मानिन्छ।
त्यस्तै, १०० देखि २०० मिलिमिटरसम्म वर्षा भए धेरै भारी तथा २०० मिलिमिटरभन्दा बढी वर्षा भए अति भारी वर्षा भएको मानिन्छ।

कुन अवस्थामा ‘एक–दुई’, ‘केही’ र ‘धेरै स्थान’ भनिन्छ?
मौसमविद्का अनुसार १० प्रतिशतभन्दा कम भूभागमा वर्षा हुने सम्भावना भए ‘एक–दुई स्थान’, १० देखि ३० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना भए ‘थोरै स्थान’ भनिन्छ।
त्यस्तै, ३० देखि ५० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना भए ‘केही स्थान’ र ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना भए ‘धेरै स्थान’मा वर्षा हुने भनिन्छ। ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुने सम्भावना भए ‘अधिकांश स्थान’मा वर्षा हुने जनाइन्छ।
२६ जिल्लामा आकस्मिक बाढीको जोखिम
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँसहित २६ जिल्ला र आसपासका ससाना नदी तथा खोलामा बहाव बढेर आकस्मिक बाढीको जोखिम रहेको छ।
महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, भोजपुर, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट तथा आसपासका जिल्लाबाट बहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ।
ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी तथा खोलाको आसपासमा बसोबास गर्ने र यात्रा गर्नेहरूलाई सतर्क रहन आग्रह गरिएको छ।




प्रतिक्रिया