अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शंखमुलको भ्याली ब्वाइज होस्टलमा युवकको हत्या

शंखमुलको भ्याली ब्वाइज होस्टलमा युवकको हत्या


काठमाडौं-काठमाडौं महानगरपालिका-१० शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा भएको झगडामा घाइते भएका एक युवकको मृत्यु भएको छ।

दाङको घोराही उपमहानगरपालिका-१७ घर भई उक्त होस्टलमा बस्दै आएका २२ वर्षीय वसन्त कालाथोकीमाथि धारिलो हतियार प्रहार गरी कुटपिट गरिएको थियो। घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि मीनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो।

प्रहरीका अनुसार कालाथोकीको टाउको र घाँटीमा गम्भीर चोट लागेको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनामा बाराको कलैया उपमहानगरपालिका-३ घर भएका १८ वर्षीय शेखर यादव र अन्दाजी २० वर्षीय प्रमित पटेल संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। उनीहरूले कालाथोकीमाथि कुटपिट गर्नुका साथै धारिलो हतियार प्रहार गरेका थिए।

प्रहरीले शेखर यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। घटनापछि फरार रहेका प्रमित पटेलको खोजी कार्य जारी रहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।