अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फोहोर व्यवस्थापन सम्बन्धी बैठकमा लफडा, झोला बोकेर हिँडिन् रास्वपाकी सांसद आशिका तामाङ

फोहोर व्यवस्थापन सम्बन्धी बैठकमा लफडा, झोला बोकेर हिँडिन् रास्वपाकी सांसद आशिका तामाङ


काठमाडौं-काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनसम्बन्धी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ र उपत्यकाका मेयरहरूबीच विवाद भएको छ। विवादपछि सांसद तामाङ झोला बोकेर बैठकबाट बाहिरिएकी छन्।

भौतिक पूर्वाधारमन्त्रीले आयोजना गर्नुपर्ने बैठक मन्त्री अस्वस्थ भएपछि सञ्चारमन्त्री विक्रम तिमल्सीनाले बोलाएका थिए। पूर्वाधार मन्त्रालयको संयोजनमा आयोजित यो उपत्यकाको फोहोरमैला व्यवस्थापनसम्बन्धी दोस्रो बैठक थियो। बैठकमा उपत्यकाका ९ जना नगरप्रमुख सहभागी थिए।

बैठकमा नगरप्रमुखहरूले आफ्नो धारणा राखिरहेका बेला टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी आफ्नो भनाइ राखेर बाहिरिन खोजेपछि सांसद तामाङले आपत्ति जनाएकी थिइन्। उनले अघिल्लो बैठकमा तीन जना मात्रै मेयर सहभागी भएको र यसपटक पनि सीमित मेयर उपस्थित भएको भन्दै बैठकमा सहभागी सबैले आफ्नो धारणा राख्नुपर्ने बताएकी थिइन्।

त्यसक्रममा तामाङ र मेयरहरूबीच भनाभन भएको थियो। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले तामाङको प्रस्तुति आक्रामक भएको भन्दै उपत्यकाको फोहोर व्यवस्थापनको इतिहास र विगतका सम्झौता बुझेर अघि बढ्न आग्रह गरे।

महर्जनले सन् २०११ को जुनमा फिनिस कम्पनी र सरकारबीच उपत्यकाको फोहोर व्यवस्थापनसम्बन्धी सम्झौता भएको उल्लेख गर्दै उक्त सम्झौता क्रियाशील रहेसम्म नयाँ योजना अघि बढाउँदा कानुनी समस्या आउन सक्ने बताए। उनले मेयरहरूसँग विवाद गरेर समस्या समाधान नहुने भन्दै इतिहास बुझ्न आग्रह गरे।

त्यसपछि तामाङले सबै मेयर बैठकमा उपस्थित हुनुपर्ने बताइन्। जवाफमा महर्जनले उनको प्रस्तुति आक्रामक भएको र त्यसरी बैठक सञ्चालन गर्न नसकिने बताएका थिए।

विवाद बढ्दै गएपछि तामाङले आफ्नो झोला बोकेर बैठकबाट बाहिरिएकी थिइन्। बैठकबाट निस्कने क्रममा उनले अब अर्को छलफल बन्चरेडाँडामै गर्ने बताएकी थिइन्।

बन्चरेडाँडा तामाङको निर्वाचन क्षेत्र धादिङ–१ मा पर्छ। धादिङको धुनीबेंसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाको सिमानामा रहेको बन्चरेडाँडा काठमाडौं उपत्यकाको फोहोर विसर्जन हुँदै आएको प्रमुख स्थल हो। फोहोर व्यवस्थापनका विषयमा स्थानीय तहका गुनासा र दीर्घकालीन समाधानको आवश्यकता उठ्दै आएपछि तामाङले पनि यस विषयमा छलफलका लागि दबाब दिँदै आएकी थिइन्।

तामाङ बैठकबाट बाहिरिएपछि मेयर महर्जनले उनको शैलीप्रति कटाक्ष गर्दै ‘उहाँको जाने नै बानी छ कि जहिले पनि’ भन्दै टिप्पणी गरेका थिए। त्यसपछि उनले बैठकका संयोजक सञ्चारमन्त्री तिमल्सीनासमक्ष बैठकमा आफूहरूलाई बोलाएर मानमर्दन गरिएको भन्दै असन्तुष्टि जनाए।

महर्जनले बैठकको अध्यक्षता गर्ने व्यक्तिले बैठकलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सक्नुपर्ने भन्दै आगामी बैठकमा संयोजन प्रभावकारी बनाउन आग्रह गरे।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन बन्चरेडाँडा ल्याण्डफिल साइट, स्थानीयको विरोध तथा गुनासा, सडकको अवस्था र फोहोर ढुवानीलगायत कारणले लामो समयदेखि चुनौतीपूर्ण बन्दै आएको छ। पछिल्लो बैठकमा पनि फोहोर व्यवस्थापनको दीर्घकालीन र व्यवस्थित समाधान खोज्ने विषयमा छलफल भएको थियो।