सिरहा-बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा शुक्रबार युवाहरूले प्रदर्शन गरेका छन्।
इलाका प्रहरी कार्यालय गोलबजार अगाडिबाट सुरु भएको विरोध र्याली भूमिजा अस्पतालको गल्ली हुँदै गोलबजारको मुख्य चोक गोलपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो।
प्रदर्शनकारीहरूले हातमा ब्यानर तथा प्लेकार्ड बोकेर बालिका गरिमा चौधरीलाई न्याय दिनुपर्ने माग गरेका थिए। उनीहरूले ‘गरिमा बहिनीलाई न्याय दे’, ‘बालेन सरकार न्याय दे’, ‘गृहमन्त्री न्याय दे’, ‘हत्यारालाई कारबाही गर’, ‘बलात्कारीलाई फाँसी दे’, ‘राजनीतिक सम्झौता चल्दैन’, ‘पीडित परिवारलाई न्याय दे’, ‘नारीमाथिको अन्याय बन्द गर’ र ‘नारीमाथिको हिंसा सहँदैनौँ’ लगायतका नारा लगाएका थिए।
प्रदर्शनमा सहभागी युवाहरूले बालिका गरिमाको हत्या घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न तथा पीडित परिवारलाई न्याय दिलाउन सरकारसँग माग गरेका छन्।
उनीहरूले बालबालिका तथा महिलामाथि हुने हिंसा र यौनजन्य अपराध नियन्त्रणका लागि राज्यले प्रभावकारी कदम चाल्नुपर्नेमा समेत जोड दिएका छन्।





प्रतिक्रिया