काठमाडौँ-बाढी पूर्वानुमान महाशाखाले देशका प्रमुख नदीहरुमा जलसतह बढ्ने पूर्वानुमान गरेको छ।
महाशाखाले शनिबार बिहान ८ बजे जारी गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरु सतर्कता तहभन्दा तल बगिरहेका छन्। कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि हालसम्म सतर्कता तहभन्दा तल नै रहेको छ।
आगामी तीन दिन कोशी र नारायणी बेसिनका नदीहरुमा जलसतह उल्लेख्य रुपमा बढ्ने पूर्वानुमान महाशाखाले गरेको छ। कोशी बेसिनका ससकोशी, तमोर, अरुण, दुधकोशी, तामाकोशी र सुनकोशीमा बहाव उल्लेख्य बढ्नेछ।
यसैगरी नारायणी बेसिनअन्तर्गत पर्ने नारायणी, त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती र कालिगण्डकी नदीमा पनि जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान छ। कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीमा भने बहाव सामान्य मात्र बढ्ने अवस्था छ।
ठुला नदीहरुबाहेक देशका विभिन्न जिल्ला भई बग्ने स-साना नदीहरुमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। शनिबार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, भोजपुर, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट र डोटी आसपासका जिल्ला भई बहने स-साना नदीहरुको बहाव उल्लेख्य बढ्ने अवस्था छ। यी क्षेत्रका नदीहरुमा ‘आकस्मिक बाढी’ आउन सक्ने भएकाले मध्यम जोखिमको सम्भावना रहेको महाशाखाको भनाइ छ।
यसका साथै भोलि र पर्सि गण्डकी तथा लुम्बिनी प्रदेश भई बहने केही स-साना नदीहरुमा समेत बहाव आकस्मिक रुपमा बढ्न सक्ने पूर्वानुमान छ। त्यसैले नदी तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ।



प्रतिक्रिया