काठमाडौं-तारकेश्वर नगरपालिका-६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा गरिएको जमिन कटानपछि पहिरो जाँदा करिब ५० घर प्रभावित भएका छन्। पहिरोका कारण ४–५ घर प्रत्यक्ष रूपमा उच्च जोखिममा परेका छन् भने टोलमा आवतजावतसमेत प्रभावित भएको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार घर निर्माणका लागि डोजर प्रयोग गरी जमिन खनेपछि उक्त क्षेत्रमा पहिरोको समस्या देखिन थालेको हो। करिब दुई वर्षदेखि जमिन खन्ने तथा घर निर्माणको काम भइरहेको भए पनि निर्माण कार्य निकै ढिलो गतिमा अघि बढिरहेको उनीहरूको गुनासो छ।
निर्माणाधीन घरका कारण सडकमा माटो तथा बालुवा थुप्रिँदा हिँडडुल गर्नसमेत कठिन भएको स्थानीयको भनाइ छ। निर्माणस्थलबाट निस्किएको माटो हटाउने तथा सडक सफा गर्ने काम नियमित रूपमा नभएको उनीहरूले बताएका छन्।
पहिरोका कारण टोलका करिब ५० घर प्रभावित भए पनि ४–५ घरमा भने प्रत्यक्ष जोखिम बढेको स्थानीयले बताएका छन्। उनीहरूका अनुसार यसअघि उक्त क्षेत्रमा पहिरोको समस्या थिएन। डोजर लगाएर जमिन काट्न थालेपछि मात्रै पहिरो जाने समस्या सुरु भएको हो।
स्थानीयले जोखिममा रहेका घर तथा बस्तीको सुरक्षाका लागि तत्काल आवश्यक व्यवस्थापन गर्न तथा निर्माणस्थलबाट माटो हटाएर सडक सुरक्षित बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।





प्रतिक्रिया