सुर्खेत-कर्णाली प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट आज तीन जना मन्त्री नियुक्त हुने भएका छन्।
सत्ता साझेदार दल नेकपा एमाले र नेकपाबीच भएको सहमतिअनुसार नेकपाले भौतिक पूर्वाधार तथा सहरी विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाएको छ।
यी तीनवटै मन्त्रालयमा आजै मन्त्री नियुक्त हुने नेकपा स्रोतले जनाएको छ। प्रदेश सरकार गठन तथा मन्त्रिपरिषद् विस्तारसम्बन्धी गतिविधि पछिल्लो समय कर्णालीमा तीव्र बनेको छ।
प्रदेश प्रमुखको कार्यालयका हिरालाल चौधरीका अनुसार नवनियुक्त मन्त्रीहरूको शपथका लागि बिहान ११ बजेको समय मागिएको छ। यद्यपि, हालसम्म मन्त्रीहरूको अन्तिम नामावली भने प्राप्त नभएको उनले बताए।
‘समय मागियो, हामी तयारी गर्दैछौँ, तर हालसम्म कुन मन्त्री को भन्ने लिस्ट आएको छैन,’ चौधरीले भने।
नेकपा प्रदेश संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले पनि आजै नेकपाबाट मन्त्री नियुक्त हुने पुष्टि गरेका छन्। तर उनले मन्त्री बन्ने नेताहरूको नाम भने खुलाएका छैनन्।
हाल विन्दमान विष्ट, जुम्कित लामा र मिलन खड्काको नाम मन्त्रीका लागि चर्चामा रहेको छ। यद्यपि, अन्तिम नामावली सार्वजनिक नभएसम्म उनीहरू नै मन्त्री बन्ने निश्चित भइसकेको छैन।


प्रतिक्रिया