अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हतकडी लगाएका नाबालकको बयान भिडियो भाइरल भएपछि प्रहरी अनुसन्धानमाथि प्रश्न

हतकडी लगाएका नाबालकको बयान भिडियो भाइरल भएपछि प्रहरी अनुसन्धानमाथि प्रश्न


काठमाडौं-बाराको जितपुर उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका एक नाबालकको हतकडीसहितको बयान भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी अनुसन्धानको गोपनीयता र प्रोटोकलमाथि प्रश्न उठेको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा हतकडी लगाएका नाबालकसँग घटनाबारे विभिन्न प्रश्न गरिएको देखिन्छ। उनको वरिपरि बर्दीधारी तथा सादा पोसाकमा प्रहरी कर्मचारीसमेत देखिन्छन्। भिडियोमा नाबालकले घटनाबारे विवरण दिँदै आफू मात्र नभई अन्य व्यक्ति पनि संलग्न रहेको दाबी गरेका छन्।

भिडियोमा नाबालकले आफूलाई सिमरा निवासी प्रदीप खड्काले घटनाका लागि उक्साएको र उनको योजनाअनुसार बालिकालाई चकलेटको प्रलोभन देखाएर घरमा लगेको दाबी गरेका छन्। उनले बालिकामाथि दुवैजनाले आपराधिक गतिविधि गरेको र पछि आफूले बालिकालाई बाँधेर त्यहाँबाट हिँडेको बताएका छन्।

यद्यपि, अनुसन्धानको क्रममा सार्वजनिक भएको बयानमा गरिएका दाबीको स्वतन्त्र पुष्टि भइसकेको छैन। प्रहरीले यसअघि प्रदीप खड्काको नाम सार्वजनिक गरेको थिएन।

बाराका प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरका अनुसार पक्राउपछि नाबालकलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको र त्यही क्रममा चिकित्सकले प्रश्न गरिरहेको अवस्थाको भिडियो सामाजिक सञ्जालमा पुगेको हो। मेडिकल परीक्षणका क्रममा प्रहरीका दुई ड्युटी अफिसर पनि अस्पतालमा उपस्थित रहेको उनले बताए।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले भने संवेदनशील आपराधिक घटनाको अनुसन्धानका क्रममा यस्तो भिडियो सार्वजनिक हुनु प्रहरीको अनुसन्धान प्रोटोकलविपरीत भएको बताएका छन्।

उनका अनुसार प्रहरीले अनुसन्धानका क्रममा संकलन गरेका अडियो तथा भिडियो सामग्री सार्वजनिक गर्ने अभ्यास छैन। अभियुक्तलाई सार्वजनिक गर्नुपर्ने अवस्थामा समेत पहिचान नखुल्ने गरी अनुहारमा मास्क लगाउने गरिएको उनले बताए।

काफ्लेले भिडियो सार्वजनिक हुनु गम्भीर विषय भएको भन्दै प्रहरी प्रधान कार्यालयले यसबारे अध्ययन गरिरहेको जानकारी दिए। उनका अनुसार भिडियो सामाजिक सञ्जालमा फैलिएको जानकारी पाएपछि मधेश प्रदेश प्रहरी प्रमुखमार्फत सम्बन्धित जिल्लासँग घटनाबारे बुझ्ने काम भइरहेको छ। प्रहरी प्रधान कार्यालयले पनि भिडियो कसरी बाहिरियो भन्ने विषयमा छुट्टै टोलीमार्फत अध्ययन गरिरहेको छ।

यसैबीच, सार्वजनिक भएको भिडियोमा देखिएका व्यक्तिहरूको भूमिकामाथि समेत प्रश्न उठेको छ। उच्च प्रहरी स्रोतका अनुसार भिडियो वास्तविक भएको भए पनि घटनास्थल वा अस्पतालमा भिडियो कसले र कुन उद्देश्यले खिच्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।

प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष उमेश श्रेष्ठले पनि अदालतबाट फैसला नहुँदै नाबालकको बयान भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्नु न्यायको प्रक्रियासम्मत नभएको बताएका छन्।

उनले बलात्कार र हत्या जस्तो गम्भीर अपराधको सत्य बाहिर आउनुपर्ने र दोषीले कानुनअनुसार सजाय पाउनुपर्ने भए पनि अनुसन्धानका क्रममा रहेका नाबालकको पहिचान र बयान सार्वजनिक गर्नु उचित नभएको बताएका छन्। पीडितको पीडा सामग्री र अभियुक्तको बयान भाइरल सामग्री बन्न नहुने उनको भनाइ छ।

नेपालको संविधानको धारा २८ अन्तर्गतको गोपनीयताको हक, बालबालिकासम्बन्धी ऐन, २०७५ का व्यवस्था, वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ ले कानुनको विवादमा रहेका बालबालिका तथा थुनुवाको पहिचान, गोपनीयता र निष्पक्ष अनुसन्धानको अधिकार सुनिश्चित गरेका छन्।

अनुसन्धान गर्ने निकायले अपराधमा संलग्न व्यक्तिलाई कानुनको दायरामा ल्याउनुपर्ने भए पनि अनुसन्धानकै क्रममा कानुनविपरीतका गतिविधि गर्न नमिल्ने आचार्यको भनाइ छ। यस्तो भिडियो सार्वजनिक हुनु प्रहरीको विभागीय आचारसंहिताविपरीतको कार्यसमेत हुन सक्ने उनले बताए।

तीन वर्षीया गरिमा चौधरी गत साउन ३१ गतेदेखि हराइरहेकी थिइन्। चार दिनपछि उनको शव बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेको थियो। घटनाले परिवार र स्थानीय समुदायलाई गहिरो शोकमा पारेको छ।

यस्तो संवेदनशील घटनामा अनुसन्धान भइरहेका बेला नाबालकको हतकडीसहितको बयान सार्वजनिक भएपछि अनुसन्धानको विश्वसनीयता, पीडित परिवारको संवेदनशीलता, बालबालिकाको गोपनीयताको अधिकार तथा न्यायिक प्रक्रियामाथि बहस सुरु भएको छ।

प्रहरीले भिडियो कसरी बाहिरियो भन्ने विषयमा अनुसन्धान गरिरहेकाले यसको वास्तविक स्रोत र सार्वजनिक गर्न संलग्न व्यक्तिको भूमिकाबारे अनुसन्धानपछि मात्रै थप तथ्य स्पष्ट हुने देखिएको छ।