अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लहानको नयाँबजारमा सार्वजनिक जग्गाका घर-टहरामा डोजर

लहानको नयाँबजारमा सार्वजनिक जग्गाका घर-टहरामा डोजर


सिरहा-सिरहाको लहान नगरपालिका-५ स्थित नयाँबजार (गुदरी हटिया) मा सार्वजनिक जग्गामा बनाइएका घर-टहरामा नगरपालिकाले डोजर चलाएको छ। पटकपटक सूचना जारी गर्दा पनि सार्वजनिक जग्गा खाली गर्न अटेर गरेको भन्दै नगरपालिकाले सात वटा घर–टहरा भत्काएको हो।

नगरपालिकाका अनुसार लहान बजारस्थित नेपाल खानेपानी संस्थानको प्रवेशद्वारदेखि पूर्व हनुमान मन्दिरसम्म गुदरी हटियाको सार्वजनिक जग्गामा बनाइएका संरचना हटाउन यसअघि नै सूचना जारी गरिएको थियो। पछिल्लो पटक त्यहाँ बसोबास गर्ने तथा पसल सञ्चालन गर्नेहरूलाई तीन दिनभित्र ठाउँ खाली गर्न निर्देशन दिइएको थियो।

डोजर चलाएर संरचना भत्काएपछि स्थानीय तथा व्यापारी भने असन्तुष्ट बनेका छन्। सयौँ संरचना रहेको क्षेत्रमा सात वटा घर–टहरामा मात्रै डोजर चलाएर पक्षपात गरिएको स्थानीयको आरोप छ। नगरपालिकाले भने सार्वजनिक जग्गामा बनेका सबै संरचना क्रमशः हटाइने जनाएको छ।

नगर प्रमुख महेशप्रसाद चौधरीका अनुसार नगरपालिकाको करिब दुई बिघा जग्गामा तीनवटा भवन निर्माण गरी ७२ वटा कोठा तयार गर्ने र ती कोठा भाडामा दिएर नयाँबजारका व्यापारीलाई व्यवस्थापन गर्ने योजना छ।

डोजर लगाएर घर-टहरा भत्काउँदा धनमालमा क्षति भएको भन्दै पीडित व्यापारीहरूले उचित मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्।