अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्याङ्जा जिप दुर्घटना अपडेट: दुई जनाको मृत्यु, १७ जना घाइते

स्याङ्जा जिप दुर्घटना अपडेट: दुई जनाको मृत्यु, १७ जना घाइते


स्याङ्जा-स्याङ्जाको गल्याङ नगरपालिका-८ करादीमा सोमबार साँझ भएको जिप दुर्घटनामा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ।

दुर्घटनामा गल्याङ नगरपालिका-८ की करिब २५ वर्षीया निशा पचभैया र गल्याङ नगरपालिका-९ का करिब ६० वर्षीय यमबहादुर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीले जानकारी दिए।

गल्याङ बजारबाट साङ्लियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको जिप गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकको उकालो घुम्तीमा नियन्त्रण गुमाएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा १७ जना घाइते भएका छन्। डीएसपी अवस्थीका अनुसार घाइतेमध्ये १५ जनाको नगर अस्पताल गल्याङमा उपचार भइरहेको छ। सामान्य अवस्थाका केही घाइते उपचारपछि घर फर्किएका छन्।

गम्भीर घाइते दुई जनालाई थप उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।