अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाढी र पहिरोले प्रभावित छन् यी राजमार्ग

बाढी र पहिरोले प्रभावित छन् यी राजमार्ग


काठमाडौँ-अविरल वर्षा, बाढी र पहिरोका कारण मुलुकका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार मेची राजमार्गको ईलाम खण्ड, अरनिको राजमार्गको सिन्धुपाल्चोक खण्ड र जाजरकोट–डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेका छन् । सिन्धुपाल्चोकको लिपिङ र रसुवाको खाल्टेमा आएको बाढी र पहिरोले गर्दा सडक सुचारु हुन सकेको छैन ।

बागमती प्रदेशका विपी राजमार्ग, कान्ति लोकपथ र टोखा–छहरे सडकमा भने सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै रात्रिकालीन समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । यी सडक खण्डमा बिहान ५ बजेपछि मात्र परिस्थिति हेरेर सवारी चल्न दिइएको छ भने रातको समयमा यात्रा नगर्न सूचित गरिएको छ ।

यसैगरी, भोजपुरको मध्य पहाडी लोकमार्ग र बागलुङको कालीगण्डकी करिडोरमा भने पहिरो पन्छाएर एकतर्फी रूपमा यातायात सुचारु गरिएको छ । सुरक्षा निकाय र सडक विभागले अवरुद्ध सडकहरू खुलाउने प्रयास गरिरहेका छन् भने यात्रीहरूलाई यात्रामा निस्कनुअघि सडकको अवस्थाबारे अपडेट रहन प्रहरीले आग्रह गरेको छ ।