काठमाडौँ-काठमाडौँ उपत्यकाभित्रका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरूको सञ्जाल ‘काठमाडौँ उपत्यका मेयर्स फोरम’ले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर फोहोर व्यवस्थापनलगायत समसामयिक विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
मंगलबार बसेको फोरमको आकस्मिक बैठकले प्रधानमन्त्रीसँग जतिसक्दो छिटो भेटघाटको समय मिलाउने निर्णय गरेको हो। भेटका क्रममा उपत्यकाको फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेको जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापनलगायतका विषयमा छलफल गरिने फोरमले जनाएको छ।
प्रधानमन्त्रीसँगको भेटमा २०८३ भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा फोरमका पदाधिकारी तथा सदस्यहरूमाथि सांसद आशिका तामाङबाट भएको व्यवहारप्रति समेत घोर आपत्ति जनाइने भएको छ।
फोरमका अनुसार काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुखका रूपमा बालेन्द्र शाह रहेकै समयदेखि उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा छलफल हुँदै आएको थियो। तत्कालीन सरकार र नेप वेस्टबीच भएको सम्झौता कार्यान्वयन गर्न वा सम्झौता खारेज गरी फोहोर व्यवस्थापनको वैकल्पिक मार्ग प्रशस्त गर्नुपर्ने विषयमा फोरमका बैठकहरूमा पटक–पटक छलफल भएको जनाइएको छ।
उपत्यकाको फोहोर व्यवस्थापन तीनवटै तहका सरकारको साझा सरोकारको विषय भएकाले यसको दीर्घकालीन समाधानका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको फोरमका अध्यक्ष चिरीबाबु महर्जनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
फोरमले उपत्यकाको फोहोर व्यवस्थापनलाई दीर्घकालीन र प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेकोमा जोड दिएको छ।



प्रतिक्रिया