अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सबल अर्थतन्त्रबिना लोकतन्त्र बलियो हुन सक्दैन: एमाले महासचिव पोखरेल

सबल अर्थतन्त्रबिना लोकतन्त्र बलियो हुन सक्दैन: एमाले महासचिव पोखरेल


काठमाडौं-नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सबल अर्थतन्त्रबिना लोकतन्त्र बलियो र दिगो हुन नसक्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले राज्यव्यवस्थाको जग नै अर्थतन्त्र भएकाले लोकतान्त्रिक तथा समाजवाद उन्मुख राज्य व्यवस्थालाई सुदृढ बनाउन आर्थिक विकासमा विशेष जोड दिनुपर्ने बताएका हुन्।

महासचिव पोखरेलले नेपालका लोकतान्त्रिक दलहरूले अर्थ–राजनीतिक प्रश्नमा अपेक्षित ध्यान दिन नसकेको उल्लेख गरेका छन्। उनका अनुसार पूर्वाधार र सूचना प्रविधिको विकासले नागरिकको जीवनस्तर र उपभोगका चाहना बढाए पनि आर्थिक विकासले त्यसलाई पछ्याउन नसक्दा विभिन्न समस्या उत्पन्न भएका छन्।

महासचिव पोखरेलले भनेका छन्, ‘राज्यव्यवस्थाको जग नै अर्थतन्त्र हो। लोकतान्त्रिक र विशेषगरी समाजवाद उन्मुख राज्यव्यवस्थालाई सुदृढ बनाउन आर्थिक विकासमा विशेष जोड दिनु अपरिहार्य छ। तर, विडम्बना ! नेपालका लोकतान्त्रिक दलहरूले अर्थ-राजनीतिक प्रश्नमा असाध्यै कम ध्यान दिए।’

महासचिव पोखरेलले वस्तु तथा सेवाको अत्यधिक उपभोग गर्ने प्रवृत्तिले आर्थिक अभाव सिर्जना गरेको र त्यही अभावका आधारमा समाजमा भ्रष्टाचार, अपराधीकरण, कालोबजारी तथा तस्करी तन्त्र मौलाएको बताएका छन्। यसबाट दलाल नोकरशाही पूँजीवादले थप अवसर पाएको उनको भनाइ छ।

महासचिव पोखरेलले गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र रोजगारीको अभावका कारण पैतृक सम्पत्तिको क्षय हुनुका साथै युवाहरूको विदेश पलायन पनि तीव्र बन्दै गएको उल्लेख गरेका छन्।

‘गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीको अभावले गर्दा पैतृक सम्पत्तिको क्षय र युवाहरूको विदेश पलायनता समेत तीव्र बन्यो’ महासचिव पोखरेलले भनेका छन्।

यी चुनौतीहरूको समाधानका लागि अब अर्थ–राजनीतिमा केन्द्रित हुँदै ‘स्वाधीन र सबल अर्थतन्त्र’ निर्माणमा ध्यान दिनुपर्ने उनको जोड छ। उनले यस्तो अर्थतन्त्र निर्माण नगरेसम्म नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र सबल र दिगो हुन नसक्ने बताएका छन्।

 महासचिव पोखरेलले भने ‘यी गम्भीर समस्याहरूको सम्बोधन गर्न अब अर्थ-राजनीतिमा जोड दिँदै ‘स्वाधीन र सबल अर्थतन्त्र’ निर्माणमा ध्यान केन्द्रित गर्नुको विकल्प छैन। यसको अभावमा नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र सबल र दिगो हुन सक्दैन।’