अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रसुवाको बाढीपछि प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन बैठक

रसुवाको बाढीपछि प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन बैठक


काठमाडौं-प्रधानमन्त्री बालेन्द्र शाहले रसुवामा आएको भीषण बाढीपछि उद्धार, राहत तथा प्रभावित क्षेत्रका बासिन्दाको सुरक्षाका लागि आपत्कालीन बैठक बोलाएका छन्।

भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षति र प्रभावितको उद्धारका लागि आवश्यक कदम चाल्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूलाई बैठकमा बोलाइएको हो।

प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रको उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको जानकारी दिएका छन्। अन्य जिल्लाबाट समेत थप सुरक्षाकर्मी तथा जनशक्ति प्रभावित क्षेत्रमा पठाइसकिएको उनले बताएका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत विपद् व्यवस्थापन प्राधिकरण सक्रिय रहेको र मेडिकल टोली, स्काउट तथा रेडक्रससँग समन्वय गरी आवश्यक कदम चाल्न निर्देशन दिइएको बताएका छन्। अतिरिक्त एम्बुलेन्स तथा मेडिकल जनशक्ति प्रभावित क्षेत्रमा पठाउने प्रक्रिया अघि बढाइएको पनि उनले जानकारी दिएका छन्।

उनका अनुसार तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको छ। स्थानीयलाई एसएमएस तथा फोनमार्फत जानकारी गराउँदै सुरक्षित स्थानमा जान अलर्ट गरिएको छ।

सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरलाई स्ट्यान्डबाइमा राख्न निर्देशन दिइएको छ । निजी हेलिकप्टर कम्पनीहरूलाई समेत हेलिकप्टर तयारी अवस्थामा राख्न जानकारी गराइएको प्रधानमन्त्री शाहले बताएका छन् ।

प्रधानमन्त्री शाहले आगामी आवश्यक कदमबारे निर्णय गर्न केहीबेरमै उच्चस्तरीय बैठक बस्ने जानकारी दिँदै सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् ।

उनले आफन्तसँग सम्पर्क हुन नसकेमा सरकारी निकायबाट आउने उद्धारसम्बन्धी अपडेट कुर्न आग्रह गर्दै थप जानकारी तथा राहतसम्बन्धी विवरणका लागि १२३४ नम्बरमा सम्पर्क गर्न सकिने बताएका छन् ।