काठमाडौँ-रसुवाबाट सुरु भएको बाढी धादिङको गल्छी क्षेत्रसम्म आइपुगेको छ। बाढीका कारण गल्छीमा एउटा झोलुङ्गे पुल बगाएको छ भने नदी तथा खोलाको सतह बढ्दै गएपछि जिल्लामा सतर्कता बढाइएको छ।
धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार जिल्लामा अहिलेसम्म ठूलो मानवीय क्षति भएको छैन। तर बाढीको सतह निरन्तर बढिरहेकाले खोला किनारका जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।
विशेषगरी मलेखु र गल्छी क्षेत्रका तटीय बस्ती बाढीको उच्च जोखिममा रहेकाले प्रशासनले स्थानीयलाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
बाढीको जोखिमलाई मध्यनजर गर्दै पृथ्वी राजमार्गमा सञ्चालन हुने सवारीसाधनलाई विभिन्न सुरक्षित स्थानमा होल्ड गरेर राखिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै जिल्लाका सुरक्षा निकाय तथा विपद् व्यवस्थापनका टोलीहरू खोला किनारका क्षेत्रमा उच्च सतर्कताका साथ परिचालन गरिएको छ।
बाढीबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि स्थानीय तहसँग पनि निरन्तर समन्वय भइरहेको प्रशासनले जनाएको छ। नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै मानवीय क्षति हुन नदिन आवश्यक सबै उपाय अपनाइएको प्रमुख जिल्ला अधिकारी गौतमले बताइन्।


प्रतिक्रिया