काठमाडौं-नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवामा आएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा पानीको बहाव बढेको भन्दै नदी किनारका बासिन्दालाई सतर्क रहन अपिल गरेका छन्।
अध्यक्ष ओलीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी किनारमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरेका हुन्।
‘सतर्क र सुरक्षित रहौँ,’ भन्दै अध्यक्ष ओलीले बाढीका कारण रसुवाको भोटेकोशी र त्रिशूली नदीमा पानीको बहाव बढेको उल्लेख गरेका छन्। अध्यक्ष ओलीले नदी किनारका बासिन्दालाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्।
त्यस्तै, ओलीले एमालेका पार्टी कमिटी, जनसंगठन तथा स्वयंसेवकहरूलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार कार्यमा सहयोग गर्न तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
यसैबीच, रसुवामा बुधबार बिहान आएको भीषण बाढीले ठूलो भौतिक क्षति पुर्याएको छ। बाढीका कारण रसुवागढी, टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा क्षति भएको छ। रसुवागढी प्रहरीचौकीमा कार्यरत केही प्रहरी सम्पर्कविहीन भएको तथा प्रभावित क्षेत्रमा उद्धार र खोजी कार्य जारी रहेको बताइएको छ। बाढीको बहाव त्रिशूली नदीतर्फ बढेकाले नुवाकोट, धादिङ हुँदै तल्लो तटीय क्षेत्रमा समेत उच्च सतर्कता अपनाइएको छ।
सरकार तथा सुरक्षा निकायले नदी किनारका बस्तीका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ जान र अनावश्यक रूपमा नदी तथा खोलाको किनारमा नजान आग्रह गरेका छन्।


प्रतिक्रिया