अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोटेकोशी बाढी: ७ जनाको शव फेला, खोज तथा उद्धार जारी

भोटेकोशी बाढी: ७ जनाको शव फेला, खोज तथा उद्धार जारी


काठमाडौं-रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी अहिलेसम्म ७ जनाको शव फेला परेको छ। बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक रेग्मीका अनुसार नुवाकोट र धादिङ जिल्लाका विभिन्न स्थानबाट ७ जनाको शव फेला परेको हो। नुवाकोटको नदी किनार क्षेत्रमा ३ जनाको शव भेटिएको छ भने धादिङमा ४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बाढीले भोटेकोशी हुँदै त्रिशूली नदी तटीय क्षेत्रमा व्यापक क्षति पुर्‍याएको छ। बाढीले सडक, पुल, विद्युत् आयोजना तथा नदी किनारका बस्तीहरूमा असर पुर्‍याएको छ। बाढीसँगै बगेर बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्य नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको सहयोगमा तीव्र रूपमा जारी रहेको छ।

उद्धार टोलीहरूले नदी किनार तथा तल्लो तटीय क्षेत्रहरूमा खोजी अभियान सञ्चालन गरिरहेका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको छ भने जोखिमयुक्त क्षेत्रमा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने कामसमेत भइरहेको छ। बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउने र थप क्षतिको विवरण संकलन गर्ने कार्य पनि जारी रहेको जनाइएको छ।

प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मौसम तथा जलप्रवाहको अवस्थालाई निरन्तर निगरानीमा राखिएको र बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको प्रहरीले जनाएको छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य जारी छ।