काठमाडौं-भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि गोसाइकुण्ड दर्शनका लागि गएका ३४ जना तीर्थयात्री सम्पर्कविहीन भएका छन्।
गोरखा जिल्लाको पालुङटार नगरपालिका-४ र ५ का तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको ग २ ख ११५२ नम्बरको बस सम्पर्कविहीन भएको पालुङटार नगरपालिकाले जनाएको छ।
प्राप्त जानकारीअनुसार उक्त बसमा चालकसहित ३८ जना सवार थिए। तीमध्ये चार जना यात्रु भने सम्पर्कमा आइसकेका छन् भने बाँकी ३४ जनाको अवस्था अझै अज्ञात रहेको बताइएको छ।
भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीका कारण सडक तथा सञ्चार सम्पर्क प्रभावित भएकाले यात्रुहरूको अवस्थाबारे यकिन जानकारी आउन नसकेको जनाइएको छ। स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायले सम्पर्कविहीन यात्रुको खोजी तथा अवस्थाबारे जानकारी संकलन गर्ने कार्य तीव्र बनाएका छन्।
बाढीका कारण रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ भने उद्धार तथा खोजी कार्य जारी रहेको छ।


प्रतिक्रिया