काठमाडौं-रसुवागढी–टिमुरे क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि नेकपा (एमाल) ले आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा केन्द्रीय सचिवालयको आकस्मिक बैठक बोलाएको छ।
पार्टी स्रोतका अनुसार बैठकमा बाढीबाट भएको क्षति, उद्धार तथा राहत कार्यको अवस्था, प्रभावित नागरिकको व्यवस्थापन तथा सरकारका तर्फबाट चालिनुपर्ने आवश्यक कदमबारे विस्तृत छलफल हुने छ। साथै, बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा पुनर्स्थापनाका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न पार्टीको भूमिकाबारे पनि निर्णय गरिने जनाइएको छ।
चीनको तिब्बत क्षेत्रबाट नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा आएको अस्वाभाविक बाढीले रसुवाको टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्रमा व्यापक क्षति पुर्याएको छ। प्रारम्भिक विवरणअनुसार बाढीले बस्ती, सडक, पुल, व्यापारिक संरचना तथा जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ। स्थानीय प्रशासनले प्रभावित क्षेत्रको क्षतिको विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ।
बाढीका कारण रसुवागढी नाकासँग जोडिएका विभिन्न सडक खण्ड अवरुद्ध भएका छन् भने केही स्थानमा पुल तथा पहुँचमार्ग बगाएको छ। टिमुरे क्षेत्रका बजार तथा भौतिक संरचनामा समेत क्षति पुगेको बताइएको छ। बाढीले केही जलविद्युत् आयोजनाका संरचना बगाउनुका साथै विद्युत् आपूर्तिमा समेत असर परेको सम्बन्धित निकायहरूले जनाएका छन्।
एमाले सचिवालय बैठकले बाढी प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा पुनर्स्थापनाका लागि आवश्यक निर्णय गर्नुका साथै संघीय सरकारसँग समन्वय गरी प्रभावित क्षेत्रमा तत्काल सहायता पुर्याउने र क्षतिको यथार्थ विवरण संकलनका लागि पहल गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया